काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न आवश्यक पर्ने परामर्श तथा निष्कासनसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईपीओ टु आईपीओ’ सेवाअन्तर्गत विभिन्न क्षेत्रका कम्पनीलाई स्थापना कालदेखि प्राथमिक शेयर निष्कासन गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। सोही सेवाअन्तर्गत रुपा–६, मैदान, कास्कीमा कारोबार कार्यालय रहेको रुपाकोट रिसोर्टसँग उक्त सम्झौता गरिएको हो।
पोखरा, कास्कीमा अवस्थित रुपाकोट रिसोर्ट प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको दृश्यावलोकनका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ सेवा विस्तार गर्दै आएको जनाएको छ।
रिसोर्टमा आवास, खाना तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन्। यसका कारण पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विभिन्न विशेष समारोहका लागि समेत रुपाकोट रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीले जनाएको छ।
एनआईसी एशिया क्यापिटलले ‘आईपीओ टु आईपीओ’ सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ।
यस्तो सेवा लिन इच्छुक कम्पनीहरूले एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सक्नेछन्।





प्रतिक्रिया