झापा । एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।
भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई दुई करोड ६६ लाख ६४ हजार रुपैयाँ र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा छ करोड ५६ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए ।
नेपाली जडीबुटीको परम्परागत बजार भारत हो । पछिल्लो समय बङ्गलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ ।
यस अवधिमा बङ्गलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (दुई करोड तीन लाख ८६ हजार रुपैयाँ), ४० मेट्रिक टन क्यानोला तेल (एक करोड २८ लाख ३६ हजार रुपैयाँ) र पाँच मेट्रिक टन सतावर (९४ लाख ५६ हजार रुपैयाँ) निर्यात भएको छ ।
कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन् । १२ मेट्रिक टन पदमचालबाट ९४ लाख ८८ हजार रुपैयाँ र पाँच मेट्रिक टन जटामसीबाट ६३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ ।
यसबाहेक २६ मेट्रिक टन चुत्रो (११ लाख ४१ हजार रुपैयाँ), २२ मेट्रिक टन नागबेली पाउडर (१० लाख १८ हजार रुपैयाँ), आठ मेट्रिक टन अमला (आठ लाख ६७ हजार रुपैयाँ) र दुई मेट्रिक टन टिमुर (आठ लाख रुपैयाँ) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन् ।





प्रतिक्रिया