विद्युतीय सवारीसाधन सञ्चालनका समस्या समाधान गर्न माग


काठमाडौँ । यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले यहाँस्थित विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई भेटेर विद्युतीय सवारीसाधन सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गरेको हो ।

महासङ्घ बागमती प्रदेशका संयोजक सुवर्ण गिरीले विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका समस्याप्रति गम्भीर हुन सम्बद्ध कम्पनीलाई आग्रह गरे। उनले बजारमा विद्युतीय सवारीसाधनका स्पेयर पाट्र्सको अभाव रहेको, आवश्यक पार्टपुर्जा समयमा उपलब्ध नहुँदा सवारीसाधन ग्यारेजमा थन्क्याउनुपर्ने र मर्मतसम्भार सेवा प्रभावकारी नभएको बताए।

यस्तै, उनले चार्जिङ सेवामा प्राविधिक समस्या देखिएकाले त्यसको तत्काल समाधान गर्नुपर्नेमा जोड दिए । व्यवसायीले विद्युतीय सवारीसाधन बिक्रीका क्रममा कम्पनीले गरेका प्रतिबद्धता र आश्वासन व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

संयोजक गिरीले सार्वजनिक यातायात क्षेत्रमा व्यवसायीको ठूलो लगानी, हजारौँको रोजगारी र नागरिकको दैनिक जीवन प्रत्यक्ष जोडिएकाले कम्पनीले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताए ।

महासङ्घले आफूले बिक्री गरेका सवारीसाधनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पूरा नगरे थप कडा कदम चाल्ने जनाएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि बिक्रीपछिको सेवा प्रभावकारी नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।