हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल


हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्ने भएका छन् । उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताएका छन् । उनका अनुसार क्षेत्रीय शान्ति तथा सुरक्षा सुदृढ गर्नु र इरान–ओमान सहयोग विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य हो ।

फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएयता इरानले तेल तथा ग्यास ढुवानीका लागि महत्त्वपूर्ण हर्मुज जलघाँटीमा नियन्त्रण कायम राखेको छ । जलमार्ग प्रयोग गर्ने जहाजले अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । युद्धअघि विश्वको तेल तथा एलएनजी निर्यातको करिब पाँचौँ हिस्सा यही मार्गबाट हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा असर पार्दै आएको छ ।

इरान र ओमानले हर्मुज हुँदै जहाज आवागमनका लागि नयाँ व्यवस्था तथा मार्गबारे छलफल गरिरहेका छन् । जलघाँटीले दुई देशलाई छुट्याउँछ । यद्यपि, प्रस्तावित व्यवस्थासम्बन्धी सम्झौता अझै अन्तिम भएको छैन ।

अमेरिकाले जलघाँटीलाई युद्धअघि कायम रहेको स्वतन्त्र नौवहन व्यवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन् ।

तेहरानले भने वार्ताबाट सहमति बने पनि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेलगायत आफ्ना माग पूरा नगरेसम्म जलमार्ग पूर्ण रूपमा खुला नहुने अडान राख्दै आएको छ । यसले हर्मुज हुँदै अन्तर्राष्ट्रिय जहाजको नियमित आवागमन तत्काल सामान्य हुनेमा अनिश्चितता कायमै छ ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।