स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता


काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो ।

भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले टिभेट ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासन सुधारका लागि सबै सरोकारवालासँग निरन्तर छलफल गरेर अघि बढ्ने बताए । टिभेट क्षेत्रको व्यवस्थापन र सुशासनमा सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि जोड दिइने र यसका लागि स्वीस सरकारसँग थप सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा स्विस सरकारले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबिच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरे । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य देशको तुलनामा राम्रो रहेको र यससम्बन्धी तथ्याङ्कसमेत उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा आफू आशावादी रहेको उनले बताए ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।