काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको चर्चित सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण यसै साता आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालले आयोजना गर्ने कन्क्लेभ भदौ ११ गते बिहीवार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको हो ।
यस वर्षको सम्मेलनको मुख्य विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ रहेको छ । डिजिटल रूपान्तरण तथा डिजिटल नेपाल निर्माणका लागि आवश्यक प्रविधि र डिजिटल इकोसिस्टमको विकासमा केन्द्रित कन्क्लेभ लगातार पाँच वर्षदेखि आयोजना हुँदै आएको छ ।
सरकारले सन् २०१९ मा सार्वजनिक गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई आधार बनाएर सन् २०२० देखि डिजिटल रूपान्तरणसम्बन्धी संवाद र छलफल अघि बढाउँदै आएको आयोजकले जनाएको छ ।
यस वर्षको सम्मेलनमा सुशासनलाई प्राथमिकता दिइएको नयाँ सरकारको नीतिसँग जोड्दै डेटामा आधारित शासन प्रणाली र डिजिटल अर्थतन्त्रलाई छलफलको प्रमुख विषय बनाइएको छ । कन्क्लेभमा तीनभन्दा बढी ‘किनोट’ प्रस्तुति, पाँचवटा विषयगत प्यानल छलफल तथा एक ‘पावर डायलग’ सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
विभिन्न क्षेत्रका विज्ञहरूको प्रस्तुतिसँगै ‘डिजिटल स्पार्क’ अन्तर्गत डिजिटल नेपालका लागि विकास भइरहेका १० भन्दा बढी नवीन प्रविधि तथा समाधानसमेत प्रस्तुत गरिनेछ । सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सांसद, मन्त्री, प्रविधि क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार कार्यक्रममा पाँच सयभन्दा बढी सहभागी प्रत्यक्ष रूपमा सहभागी हुने अपेक्षा गरिएको छ ।
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष रोजन लाम्सालले डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाबीच संयुक्त छलफलको वातावरण सिर्जना गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
उनका अनुसार डिजिटल इकोसिस्टम निर्माणका लागि सरकार तथा निजी क्षेत्रबाट भइरहेका प्रयासलाई प्रविधि र नवप्रवर्तनसँग जोड्दै नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा समेत सम्मेलनले जोड दिनेछ ।
यस वर्षको कन्क्लेभमा नेपालमै नेपालीहरूले विकास गरेका ‘टिङटिङ’ र ‘थर्ड फ्याक्टर एआई’ लगायतका प्रविधि विशेष सहकार्यका रूपमा प्रस्तुत हुनेछन्। कार्यक्रममा २० भन्दा बढी नेपाली प्रविधि तथा नवप्रवर्तनका उत्पादनसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
त्यस्तै, सहभागीले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी टिङटिङका ओम्नी लाइभ इन्टर्याक्सन, आउटबाउन्ड र रेस्पोन्सिभ एजेन्ट लगायतका एआई प्रविधिको प्रदर्शनसमेत गरिनेछ ।
कार्यक्रममा अनलाइन यात्रा टिकटिङ प्लेटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनी ‘फोनपे’ ‘पावर्ड बाइ पार्टनर’ का रूपमा सहभागी छन् । त्यस्तै, एनएएस–आईटी, क्यान फेडेरेसन, एनसेल बिजनेस, स्काई आईटी, काटा हो, यती क्लाउड, डिसहोम, नासा एक्स, रि–सिक्युरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम, ग्लोबल स्पार्कलगायत संस्थाको सहकार्य र समर्थन रहेको आयोजकले जनाएको छ ।





प्रतिक्रिया