बीमा कम्पनीहरुको व्यवसाय ४०% बढ्यो, १.१६ खर्ब बीमाशुल्क संकलन

0
Shares

कोरोना भाइरस संक्रमणका बीच नेपालमा सञ्चालित बीमा कम्पनीहरुले ४० प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका छन् । गत आवको ९ महिनाको तुलनामा बीमा कम्पनीको बीमाशुल्क संकलन ४०.०४ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब नाघेको हो ।

बीमा समितिले उपलब्ध गराएको चैत्र मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले चैत्र मसान्तसम्ममा कुल एक खर्ब १६ अर्ब ८८ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आथिर्क वर्षको चैत्र मसान्तसम्म कम्पनीहरुले ८३ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

गत आवको ९ महिनाको तुलनामा जीवन बीमातर्फ ४६.७७ प्रतिशत र निर्जीवन बीमातफ २१.७३ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो । गत आवको चैतसम्म जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ९५ करोड र निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

बीमा समितिका अनुसार चालु आर्थिक बर्षको ९ महिनामा जीवन जीवन बीमा कम्पनीहरु बापत कुल ९३ अर्ब ८६ करोड लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ कुल २३ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफले सबैभन्दा धेरै २५ अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेको छ भने निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । चैत्र महिनामा जीवन बीमा कम्पनीहरुले २२ अर्ब ६५ करोड र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ गरी कुल २५ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफपछि एलआइसी नेपाल परेको छ । कम्पनीले यस अवधिसम्मा १३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले चैत्र महिनामा मात्रै दुई अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेपाल लाइफ र एलआइसी पछि बढी बीमा शुल्क उठाउने कम्पनीमा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, युनियन लाइफ, एशियन र मेट लाइफ परेका छन् । यी कम्पनीहरुले क्रमशः ८ अर्ब ७५ करोड, ६ अर्ब ९१ करोड, ५ अर्ब १६ करोड, ४ अर्ब ६४ करोड र ४ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीतर्फ शिखरपछि सगरमाथा, नेको, सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु, आइएमई,, प्रुडेन्सियल र लुम्बिनी जनरलले एक अर्ब भन्दा माथि बीमा शुल्क उठाएका छन् । कम्पनीहरुले क्रमशः एक अर्ब ९९ करोड, एक अर्ब ९५ करोड, एक अर्ब ७५ करोड, एक अर्ब ६९ करोड, एक अर्ब ३९ करोड, एक अर्ब १५ करोड, एक अर्ब ६ करोड र एक अर्ब एक कोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

अजोड, यूनाइटेड, ओरियन्टल, हिमालयन, एभरेष्ट, नेशनल, जनरल, सानिमा जनरल र नेपाल इन्स्योरेन्सले अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।