भुईँको टिप्न खोज्दा पोल्टाको खस्ला नि ! : अञ्जन श्रेष्ठ


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अहिले भएको उद्योगहरुलाई व्यवस्थित गर्न हाग्रह गरेका छन् ।

नाडा अटो शो २०२४ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले सञ्चालनमा रहेका र संकटमा परेका उद्योगहरूको संरक्षणमा ध्यान दिन आग्रह गरेका हुन् । श्रेष्ठले नयाँ उद्योगहरू खोल्ने सरकारको योजनालाई स्वागत गर्दै गर्दा सञ्चालनमा रहेका र संकटमा परेका उद्योगहरूको संरक्षणमा पनि सरकारको ध्यान जानुपर्ने बताए।

उनले भने ‘भुईँको टिप्न खोज्दा पोल्टाको खस्ला । वर्षौँदेखि बन्द रहेका उद्योगहरू खोल्ने कुरा गरिरहँदा हाल सञ्चालनमा रहेका उद्योगहरूले भोगिरहेका समस्यालाई नजरअन्दाज गर्न हुँदैन।’

सरकारले स्वदेशी उद्योगहरूलाई दिगो बनाउन र ‘कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ’ मार्फत औद्योगिक विस्तार गर्न सके मात्र देशले लिएको आर्थिक लक्ष्यहरू पूरा हुन सक्ने विश्वास उनले व्यक्त गरे।

मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको खस्कँदो मनोबलका विषयमा सरकार प्रति कटाक्ष प्रकट गरेका छन् ।

यस्तै, उनले बजारमा माग बढ्न नसक्दा उद्योग र व्यवसाय सञ्चालनमा निकै कठिनाइ भइरहेको र व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको उनले बताए। आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो कठिन समय र व्यवसायीहरूको यति कमजोर मनस्थिति कहिल्यै नदेखेको उल्लेख गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्था सुधार्न राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

नयाँ सरकारले अर्थतन्त्रलाई अगाडि बढाउन व्यक्त गरेको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै अध्यक्ष श्रेष्ठले सरकारको महत्त्वाकाङ्क्षी लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजनाको खाँचो रहेको औँल्याए। आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने, १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख मानिसलाई रोजगारी दिने सरकारको लक्ष्यलाई सफल बनाउन निजी क्षेत्र साथ दिन तयार रहेको उनले स्पष्ट पारे। ‍

सरकारले बजेटमार्फत गरेका घोषणाहरू कार्यान्वयन गर्न आवश्यक पर्ने नीति, योजना र रणनीतिको अभाव देखिएको भन्दै उनले नेपालको अर्थतन्त्रलाई अहिले ‘रि-इन्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले अटोमोबाइल क्षेत्र मुलुकको राजस्वको मुख्य मेरुदण्ड रहेको समेत बताए ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।