काठमाडौँ । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नयाँ जेनेरेसनको स्कोडा कोडियाक नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले अगस्ट २५ देखि भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मार्फत नयाँ कोडियाक सार्वजनिक गरेको हो।
‘रियल लक्जरी, एज इट सुड बी’ नाराका साथ सार्वजनिक गरिएको नयाँ कोडियाकलाई कम्पनीले युरोपेली डिजाइन, प्रविधि, आराम र प्रिमियम अनुभवको संयोजनका रूपमा प्रस्तुत गरेको छ।
नयाँ कोडियाक सात सिट क्षमताको एसयूभी हो। यसमा एर्गो सिट्स, म्याट्रिक्स एलइडी हेडलाइट्स र स्मार्ट डायल्सजस्ता सुविधा उपलब्ध छन्। गाडीको डिजाइनदेखि इन्टेरियरसम्म चेक डिजाइन र फक्सवागन ग्रुपको इन्जिनियरिङलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
गाडी सार्वजनिक गर्दै स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकमार्फत नेपालमा लक्जरी एसयूभीको नयाँ अवधारणा प्रस्तुत गर्न खोजिएको बताए।
“नयाँ कोडियाकका साथ हामी नेपालमा केवल एउटा गाडी मात्र ल्याइरहेका छैनौं, लक्जरी कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट अवधारणा ल्याइरहेका छौं। जहाँ इमानदारिता, शुद्धता र अनावश्यक तडकभडकविहीन परिष्कार छ,” उनले भने।
नेपालमा नयाँ जेनेरेसन स्कोडा कोडियाक तीन भेरियन्टमा उपलब्ध गराइएको छ। लाउन्ज भेरियन्टको मूल्य २ करोड १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै स्पोर्टलाइन र सिलेक्सन एल एन्ड के भेरियन्टको मूल्य समान २ करोड ३९ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
नयाँ कोडियाक नाडा अटो शो २०२६ अवधिभर भृकुटीमण्डपस्थित स्कोडाको पेभिलियनमा अवलोकन गर्न सकिनेछ। यसको बुकिङ देशभरका आधिकारिक स्कोडा शोरुमबाट खुला गरिएको कम्पनीले जनाएको छ।





प्रतिक्रिया