काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आज आएको भीषण बाढी हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुनसक्ने बताइएको छ ।
अन्तरराष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)का विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताए । “यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ । थप जानकारी प्राप्त हुँदै जाँदा यसको पुष्टि हुन बाँकी छ”, उनले भने ।
यसैगरी इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट तहसनहस भएको त्यही क्षेत्र फेरि जोखिममा परेको बताए । “लेन्दे खोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ । नेपाल–चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ”, उनले भने । बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ ।





प्रतिक्रिया