काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ मा रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ खर्ब ६३ अर्ब १३ करोड भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आव रेमिट्यान्स ३७.१ प्रतिशतले वृद्धि भएको हो । जबकी अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले मात्रै बढेको थियो ।
गएको असार महिनामा मात्रै विप्रेषण आप्रवाह दुई खर्ब ४२ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आवको वार्षिक तथ्यांकअनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६ हजार ५१९ र पुनः श्रमस्वीकृति लिनेको संख्या तीन लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः पाँच लाख पाँच हजार ९५७ र तीन लाख ३३ हजार ३०९ रहेको थियो ।
सो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । यस्तै, खुद द्वितीय आय (खुद ट्रान्सफर) २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।





प्रतिक्रिया