थप एक पुनर्बीमा कम्पनीलाई मात्र लाइसेन्स दिँदै बीमा समिति, प्रस्ताव आह्वान

0
Shares

नेपालमा पुनर्बीमा कम्पनी संचालनका लागि विभिन्न चार समूहले चासो व्यक्त गरेको भएपनि बीमा समितिले भने थप एक लाइसेन्स वितरणको तयारी थालेको छ।

जसको तयारी स्वरुप समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका आवेदन माग गरेको छ । समितिले बिहीबार एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको समितिको भनाई छ ।

इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन् । पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ भने सञ्चालन रहेको नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले भने आवेदन दिन नपाउने समितिले प्रष्ट पारेको छ ।

प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेश गर्दा समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद तीन को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरु समेत समावेश गर्नु पर्नेछ । प्राप्त प्रस्तावहरुमध्ये बीमा समितिले तयार गर्ने मूल्यांकनका आधारहरुमा उच्चतम अंक प्राप्त गन कम्पनीलाई छनोट गरिने समितिले जनाएको छ।

साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको जानकारी दिएको छ । प्रुडेन्सियल रिइन्योरेन्स, अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स र जेन्युन रिइन्योरेन्स लगायतका कम्पनीहरु नयाँ पुनर्बीमा कम्पनीको अनुमति लिने तयारीमा छन् ।

अहिले नेपाल पुनर्बीमा कम्पनी एक मात्रै रिइस्योरेन्स कम्पनी हो। जसमा नेपाल सरकारको ४४%, विशाल ग्रुपको ३%, राष्ट्रिय बीमा कम्पनीको २.७%, सर्वसाधरणको १६% सहित अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीको शेयर स्वामित्व छ।

बीमा समितिले यस भन्दा अगाडी बीमा विज्ञ भोजराज शर्माको संयोजकत्वमा नयाँ पुनर्बीमा कम्पनी स्थापनको लागि संभाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययन प्रतिवेदनका आधारमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।