भोटेकोशी बाढीले त्रिशूली करिडोरमा ३२ पुल ध्वस्त, पुनर्निर्माणमा ५० अर्ब लाग्ने अनुमान


काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले त्रिशूली करिडोरअन्तर्गत रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ ।

सडक विभागको प्रारम्भिक विवरणअनुसार प्रभावित पुलमध्ये ३२ वटा पूर्ण रूपमा ध्वस्त भएका हुन् । बाढीले पुलको जग, पिलर तथा माथिल्लो संरचनासमेत बगाएकाले ती पुललाई सामान्य मर्मतबाट सञ्चालनमा ल्याउन नसकिने विभागले जनाएको छ ।
सडक विभागका अनुसार ३२ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब १० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको जानकारी प्राप्त भएको छ । यसबाहेक रसुवा, नुवाकोट र धादिङका सडक पूर्वाधारमा थप करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ । बाढीबाट क्षतिग्रस्त पुल तथा सडकको पुनर्निर्माण र मर्मतसम्भारका लागि कम्तीमा ५० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान विभागले गरेको छ ।

विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सम्बन्धित स्थानमा जान सकिने अवस्था नरहेकोले क्षतिको यकिन विवरण भने आउन सकेको छैन ।

नुवाकोटका १५ पुल पूर्ण रुपमा ध्वस्त

बाढीले सबैभन्दा बढी क्षति नुवाकोटमा पु¥याएको छ । नुवाकोटमा मात्रै १५ वटा प्रमुख पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
नुवाकोट जिल्ला १५ पुल ध्वस्त भएका छन् । बेत्रावतीदेखि देवीघाटसम्मका बेत्रावती (पुरानो र नयाँ) पुल, त्रिशूली नदी पुल (तुप्चे), त्रिशूली बजारका दुईवटा पुलहरू (पुरानो र नयाँ), सिमचौर पुल, देवीघाटस्थित जालश्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल, देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल, ताँदी खोला पुल (दुईवटा), त्रिशूली नदी पुलहरू (श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार) ध्वस्त भएका छन् ।

रसुवाका १३ पुल ध्वस्त

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । रसुवामा मात्रै १३ वटा पुल पूर्ण रूपमा बगेका छन् । रसुवागढी नाका जोड्ने मितेरी पुल बाडीले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यसका साथै टिमुरेका दुई पुल, चिलिमे क्षेत्रका भोटेकोशी तथा चिलिमे खोला पुल, स्याफ्रुबेसी पुल, हाकुका दुई पुल, अपर त्रिशूली हाइड्रोपावर पुल, मैलुङ पुल तथा त्रिशूली–३ ए ड्याम क्षेत्रका दुई पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । पुलसँगै सडक संरचनामा समेत व्यापक क्षति पुगेकाले बेत्रावतीदेखि धुन्चेसम्मको सडक सम्पर्क विच्छेद भएको छ ।

धादिङको ५ पुल ध्वस्त

यस्तै धादिङ जिल्ला ५ पुल ध्वस्त भएका छन् भने ३ क्षतिग्रस्त भएका छन् । धादिङ खण्डमा ५ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३ वटामा क्षति पुगेको छ । स्याल्टार सडक पुल, घाटबेँसी पुल, फुर्के खोला पुल (मलेखु) र कोल्पु खोलाका दुई पुलहरू ध्वस्त भएका छन् ।

मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुल क्षतिग्रस्त भएका छन् । यस्तै तिनओटा पुलमा आवश्यक मर्मत तथा सुदृढीकरण गरी पुनः सञ्चालनमा ल्याउन सकिने विभागको प्रारम्भिक आकलन छ ।

धादिङ र चितवन खण्डका केही पुलहरू भने सुरक्षित रहेका छन् । गल्छी नजिकैको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुलहरू सुरक्षित छन् ।

तीन प्रमुख सडक खण्डमा ठूलो क्षति

बाढीले वेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडकमा पूर्ण रुपमा क्षति पुगेको छ भने १० किलोमिटर सडक आंशिक रुपमा क्षतिग्रस्त भएको छ । बाढीका कारण पुलसँगै त्रिशूली करिडोरअन्तर्गतका सडकमा समेत ठूलो क्षति पुगेको छ । पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गलौंदी खण्डमा बाढीले सडक संरचनामा व्यापक क्षति पु¥याएको छ । विभिन्न स्थानमा ठूलो परिमाणमा हिलो, ढुंगा तथा अन्य बाढीजन्य सामग्री थुप्रिएकोले तत्काल यातायात सञ्चालनमा समस्या देखिएको जैसीको भनाई छ ।

यस्तै धादिङको बैरेनी क्षेत्रमा करिब १ हजार ३०० मिटर सडक प्रभावित भएको छ । कतिपय स्थानमा करिब ३ मिटरसम्म उचाइमा बाढीजन्य सामग्री थुप्रिएको विभागले जनाएको छ । अन्य केही खण्डमा ठूला बोल्डर तथा हिलोले सडक ढाकेको छ ।
गल्छी–त्रिशूली–बेत्रावती सडक खण्डअन्तर्गत देवीघाट तथा त्रिशूली क्षेत्रमा समेत सडकमा ठूलो परिमाणमा डेभरिज थुप्रिएको छ । तितिरेभिर क्षेत्रमा करिब ३०० मिटर सडक पूर्ण रूपमा बगेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।