काठमाडौँ । छोचेन खोला र पुरेपु त्साङपो नदीको संगमस्थल नजिकै बनेको बाधायुक्त ताल फुट्ने उच्च जोखिम रहेकोले नेपालमा उच्च सतर्कता अप्नाउन चीनको जलस्रोत मन्त्रालयले आग्रह गरेको छ । ग्लोबल टाइम्सले चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिहीबार यसबारे समाचार प्रकाशित गरेको हो ।
मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ । पानीको मात्रा बढ्दै गएसँगै ताल फुट्ने जोखिम उच्च रहेको जनाइएको छ ।
चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । सम्भावित ताल फुटेमा त्यसबाट हुन सक्ने प्रभावको आकलन गर्न बाढीको सिमुलेसन तथा विश्लेषण भइरहेको र आपत्कालीन उद्धारका लागि तयारीसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, चीन–नेपाल सीमामा रहेको सिजाङ स्वायत्त क्षेत्रको ग्यारोङ बन्दरगाहमा गएको विनाशकारी पहिरोपछि तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ । २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको मन्त्रालयको भनाई छ ।





प्रतिक्रिया