भोटेकोशी बाढीः गोरखाका ५५ जना सम्पर्कविहीन


गोरखा । भोटेकोशी बाढीमा परी गोरखाका जिल्लाका ५५ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

पालुङटार नगरपालिकाका ३१, सहिदलखनका सात, धार्चेका चार, भीमसेन थापाका तीन, बारपाक सुलिकोटका ६ र सिरानचोकका दुई र आरुघाट गाउँपालिकाका तीनजना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

बाढीमा परेर पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रुहरु बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् । ग २ ख ११५२ नम्बरको बसमा सवार ३७ यात्रुमध्ये ६ जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उनले जानकारी दिइन् ।

रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका सात जना सम्पर्कविहीन बनेको पालिका अध्यक्ष रमेश थापा मगरले बताए । “बाढी प्रभावित क्षेत्रमा डोजर अपरेटरका रुपमा कार्यरत पालिकाको वडा नं १ का एक, वडा नं ३ का एकजना ट्रक डाइभर, विद्युत्को काम गर्ने वडा नं ६ का एक, वडा नं ७ घर भएका एकजना होटल व्यवसायी र अर्को एकजना ट्रेकिङ व्यवसायी र वडा नं ८ घर भएका दुईजना ट्रेकिङ व्यवसायीहरु सम्पर्कविहीन छन्”, थापाले भने ।

धार्चे गाउँपालिका–४ लाप्राकका चारजना पनि रसुवा बाढीमा परेर बेपत्ता भएका पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । लाप्राक घरभई रसुवामा सशस्त्र प्रहरीमा कार्यरत एकजना र अलपाइन इको ट्रेकिङ कम्पनीमा कार्यरत तीनजना पर्यटक सहयोगी बेपत्ता भएका गुरुङले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाका तीनजना नागरिक रसुवा बाढीमा परेर सम्पर्कविहीन बनेको अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

भीमसेन थापा वडा नं ३ घर भई रसुवामा सरकारी कर्मचारीका रुपमा कार्यरत एक र वडा नं ६ र १ का एक÷एक जना ट्रेकिङ व्यवसायीको अवस्था अज्ञात रहेको उनको भनाइ छ ।

बारपाकसुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका पालिका अध्यक्ष विष्णु भट्टले बताए । बारपाकसुलिकोट–४ का तीनजना रसुवा बाढीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये एकजना नेपाली सेना र अन्य दुईजना पर्यटन मजदुर रहेका अध्यक्ष भट्टले जानकारी दिए ।

उनका अनुसार वडा नं ३ र ६ का एक÷एक जना पर्यटन मजदुर बेपत्ता भएका छन् । “वडा नं ५ को पनि एकजना बेपत्ता छ भन्ने खबर आएको छ । उनी अपर त्रिशूली हाइड्रोपावरमा काम कार्यरत्त थिए”, उनले भने ।

यस्तै, सिरानचोक र आरुघाट गाउँपालिकाका दुई–दुई जना नागरिकहरु रसुवा बाढीपछि सम्पर्कबिहीन बनेका पालिकाका प्रमुखहरुले जानकारी दिए ।

सिरानचोकको वडा नं ८ र वडा नं ५ का १र१ जना सम्पर्कविहीन छन् । उनीहरु रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए । “आरुघाटको वडा नं ९ का एकजना ड्राइभरका रुपमा पर्यटक लिन स्याफ्रुबेँसी पुगेका एकजना सम्पर्कविहीन छन्”, पालिका अध्यक्ष राजु गुरुङले भने, “अर्को वडा नं ३ का एकजना रसुवामा मजदुर काम गर्ने पनि बेपत्ता छ भन्ने खबर आएको छ । हामीले उनीहरुको अवस्थाबारे बुझ्न खोजिरहेका छौँ ।”

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।