कृष्णभीर नखुलेसम्म वैकल्पिक बाटोबाट ग्यास ल्याइने


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीले सडक अवरुद्ध भएपछि नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेका छन् ।

एलपी ग्यास उद्योग संघ र निगमका प्रतिनिधिसहितको बैठकले कृष्णभीरको सडक अवरुद्ध रहेसम्म काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ग्यास आपूर्ति नरोकिने गरी वैकल्पिक मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार काठमाडौं तथा आसपासका जिल्लामा एलपी ग्यास बिक्री–वितरण गर्दै आएका उद्योगहरूले धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, काठमाडौं तथा काभ्रेसहितका जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी भरिएका सिलिन्डर वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछन् ।

बैठकले कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्ग प्रयोग गरी एलपी ग्यास सिलिन्डर ढुवानी तथा बिक्री–वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै, बाढीका कारण आपूर्ति प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक क्षेत्रका लागि आवश्यक ग्यासको मौज्दात कायम राख्नसमेत उद्योगहरूलाई भनिएको छ ।

धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, काठमाडौं र काभ्रेलगायतका जिल्लामा रहेका ग्यास उद्योगले कम्तीमा १८ मेट्रिक टन एलपी ग्यास रिजर्भमा राख्नुपर्ने निर्णय गरिएको छ ।

बैठकमा निगमका कार्यकारी निर्देशकसहित एलपी ग्याससम्बन्धी अधिकारी तथा एलपी ग्यास उद्योग संघका अध्यक्ष, पदाधिकारी, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूको सहभागिता रहेको निर्णयपत्रमा उल्लेख छ । एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार वैकल्पिक मार्गबाट ग्यास बुलेट ल्याउन सम्भव नभए साना गाडीमार्फत सिलिन्डर नै ढुवानी गरिनेछ ।

एभरेष्ट, सुगम र सहारा ग्यास साना गाडीमार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउन लागिएको उल्लेख गर्दै घिमिरेले भारतबाट पर्याप्त ग्यास आपूर्ति भइरहेकाले अनावश्यक स्टक नराख्न उपभोक्तालाई आग्रह समेत गरेका छन् । कृष्णभीरमा सडक कटान भएपछि काठमाडौं–मुग्लिन सडकखण्डमा यातायात प्रभावित भएको छ । यसले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको नियमित ढुवानीमा समेत असर पार्ने जोखिम बढेको छ ।

यस्तो अवस्थामा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति गर्ने निर्णयले काठमाडौं उपत्यकामा हुन सक्ने सम्भावित ग्यास अभाव टार्ने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार  १८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।