काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ । बक्स अफिसले चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको कारोबार विवरण सार्वजनिक गरेको हो ।
भदौ १४ गते मध्यरातसम्मको विररण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘गौथली’ ले कमाएको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र गौथलीले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गर्दै २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । डा. कपिल रिजाल निर्देशनमा तयार भएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा राम्रो कमाई गरेको छ ।
त्यसैगरी, कमाइको दोस्रो स्थानमा मास्टर्नी रहेको छ । उक्त, चलचित्रले ११ हजार ९९६ वटा टिकट बिक्री गर्दै ३९ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । भदौं ५ देखि प्रदर्शनमा आएको उक्त चलचित्र सुवेन्धू घोषले निर्देशन गरेका हुन् ।
यस्तै, हलमा प्रदर्शनरत चलचित्र ‘हली’ ले हालसम्म २३ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ । चलचित्रको ८ हजार ४६३ टिकट बिक्री भएका छन् । ओम प्रतीकद्धारा निर्देशित चलचित्र ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आएको हो ।
चलचित्र ‘लज्जावती’ ले हालसम्म २ हजार ७३५ वटा टिकटबाट ७ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रेमकथामा आधारित सो चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् । ‘लज्जावती’ साउन २९ गतेदेखि प्रदर्शनमा आएको हो ।





प्रतिक्रिया