काठमाडौँ । भदौ १० गते नै नुवाकोटको विदुर पुगेर राहत तथा सहयेग कार्य सुरू गरेको गोल्यान फाउण्डेसनले अहिले चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा करिब ४ सय जनालाई भोजनका साथै स्वास्थ्य उपचार र मनोपरामर्श सेवा दिइरहेको छ। बालबालिकाको लागि खेल सामग्री र आवश्यक लत्ता कपडा पनि दिएको छ।
भोटेकोशीलगायतका नदीमा आएको बाढीबाट ९०० भन्दा बढी नागरिकको ज्यान गएको छ भने करिब ४ हजार बेपत्ता छन्। बाढीबाट बचेकाहरूको पनि घरबारविहीन छन्। उनीहरूको अवस्था निकै कष्टकर छ। गोल्यान ग्रुप अन्तर्गत गोल्यान फाउण्डेसन बाढीको भोलिपल्टदेखि नै प्रभावित क्षेत्रमा खटिएको छ।
फाउण्डेशनले बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा भोजन, स्वास्थ्य उपचार, मनोपरामर्शलगायत सेवा दिइरहेको छ । होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन्।
ती परिवारका सदस्यसहित आसपासका समेत गरि दैनिक करिब ४ सय जनालाई होल्डिङ सेन्टरमा खाना–खाजा (तीनपटक) प्रबन्ध गरिएको छ।
भोजनका अतिरिक्त सामान्य स्वास्थ्य सेवा र बालमनोपरामर्श सेवा प्रदान गरिएको छ।
ग्रुपले गोल्यान फाउण्डेशनमार्फत उक्त कार्यको लागि ५० जना स्वयंसेवी तथा कर्मचारी र मनोपरामर्शकर्ता परिचालन गरेको छ। गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी समूह खटिएको छ।
होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिकासमेत रहेका छन्। उनीहरूको लागि खेल सामग्रीका साथै बालमनोपरामर्शको काम पनि भइरहेको सिइओ गैह्रेले बताइन्।
गोल्यान ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्यानले विपत्तिको बेला प्रभावित नागरिकलाई साथ र सहयोग दिनुपर्छ भन्ने मान्यताका साथ बाढी गएको दिनमै राहत तथा सहयोग योजना बनाइएको बताए ।
गोल्यान ग्रुपले प्रभावित क्षेत्रमा पुगेर तत्कालीन राहतका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रूपैयाँ सहयोग गरेको छ। गोल्यान ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले सोमबार बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रूपैयाँ हस्तान्तरण गरेको हो। कम्पनीका प्रवन्ध निर्देशक अक्षय गोल्यान र निर्देशक सशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन्।





प्रतिक्रिया