काठमाडौँ । गत बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ ।
यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको भोटेकोशी बाढीसम्बन्धी आज परराष्ट्र मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोगहरू तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निकट समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
यसैगरी विदेशस्थित नेपाली नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क तथा आवश्यकताअनुसार पहिचान, शव स्वदेश फिर्ता गर्ने प्रक्रियालगायतमा सहजीकरण गरिरहेका छन् । “हामी सम्बन्धित देशहरूसँग निकट सम्पर्कमा छौँ र आवश्यक सबै कन्सुलर सहायता उपलब्ध गराउन प्रतिबद्ध छौँ”, प्रवक्ता क्षेत्रीले भने ।
उनका अनुसार नेपाल सरकारले विशिष्ट क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगसहित सरकारका सम्बन्धित निकाय तथा सुरक्षा बलहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । “भारतबाट २४ जना जनशक्ति सम्मिलित दुई वटा तथा चीनबाट नौ जना जनशक्ति सम्मिलित विशेष सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् आयोजनाहरूमा परिचालित छन्”, उनले भने, “गणतन्त्र कोरियाको एउटा टोली पनि यहाँ आएको छ ।”
भारतीय सुरुङ उद्धार टोलीहरूले चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासँग निकट समन्वयमा काम गरिरहेका छन् । चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ । मृतकका शवको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरण नेपाललाई प्राप्त भइसकेको छ ।
प्रवक्ता क्षेत्रीले भने, “डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले २९ अगस्टदेखि सम्बन्धित नेपाली अधिकारीसँग सहकार्य गर्दै निरन्तर काम गरिरहेको छ । चीनबाट चार सदस्यीय फरेन्सिक टोली आज साँझ आइपुग्दैछ ।” सिङ्गापुरबाट ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन गर्ने सम्बन्धमा पनि समन्वय भइरहेको उनले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार मन्त्रालयले ‘लाइडर’, ‘बेल्ली ब्रिज’, ‘फ्रिजर’, डिएनए परीक्षण किट, ‘लोड क्यारियर’, मानव अवशेष राख्ने झोला, उच्च क्षमताका ड्रोन, जीन सिक्वेन्सरलगायत अन्य सामग्री उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाल सरकारले तत्काल नागरिकको जीवन बचाउने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने, जीवित व्यक्तिलाई सहयोग गर्ने तथा प्रभावित समुदायहरूलाई राहत उपलब्ध गराउने कार्यमा दृढ रूपमा केन्द्रित रहेको जनाएको छ ।
यसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी जनशक्ति सम्मिलित एकीकृत बल हाल प्रभावित क्षेत्रभर खोजी, उद्धार, स्थानान्तरण तथा राहत कार्यमा परिचालित छन् । यसैगरी जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक विशिष्ट दक्षता, उपकरण तथा स्रोतसाधन पहिचान र परिचालन गर्न छिमेकी मुलुकहरू तथा अन्तरराष्ट्रिय समुदायसँग निकट समन्वयमा निरन्तर काम गरिरहेको मन्त्रालयको भनाइ छ ।





प्रतिक्रिया