विपद् कोषमा सहयाेग गर्न सिंहदरबार चहार्दै आए ७८ वर्षीय धनपति


काठमाडौँ । राष्ट्रिय विपद्को समय सरकारलाई सहयोग गर्न ७८ वर्षीय धनपति भण्डारी आफैं सिंहदरबार पुगेका छन्। सिनामंगलबाट भदौ १४ गते दिउँसो सिंहदरबार पुगेका भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेका हुन्।

भण्डारी दिउँसो करिब २ बजे सिंहदरबारको दक्षिण गेट पुगेपछि सुरक्षाकर्मीलाई आफू प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आएको बताउँदै रकम बुझाउने ठाउँमा पु¥याइदिन आग्रह गरेका थिए। त्यसपछि प्रहरीको समन्वयमा उनलाई अर्थ मन्त्रालय पुर्याइएको थियो।

अर्थ मन्त्रालयमा केही समयको प्रतीक्षापछि भण्डारीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्षमा लगिएको थियो। भण्डारीलाई भेट्न अर्थमन्त्री आफैं उनको ठाउँमा पुगेका थिए।

अर्थमन्त्री वाग्लेले यो उमेरमा व्यक्तिगत रूपमा यति ठूलो रकम सहयोग गर्न चाहनुभएको हो भनेर सोध्दा भण्डारीले आफूले व्यक्तिगत रूपमा सहयोग गर्न आएको बताए।

भण्डारीले आफ्नो व्यक्तिगत खाताबाट ७ लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। अझ रोचक कुरा, राष्ट्रिय संकटका बेला सरकारलाई सहयोग गरेको यो उनको तेस्रो पटक रहेछ। उनले यसअघि पनि प्रत्येकपटक यही ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गर्दै आएको बताए । तर यही अंक रोज्नुको कारण भने उनले खुलाएनन् ।
धनपति भण्डारीले जीवनको लामो समय भारतमा रोजगारी गरेर बिताएका थिए। छोराछोरी हुर्किएपछि बुटवल फर्किएका उनी पछि छोराछोरीसँगै काठमाडौंको सिनामङ्गलमा बस्दै आएको बताए ।

चेक बुझ्दै अर्थमन्त्री वाग्लेले यो रकम गलत ठाउँमा प्रयोग नहुने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार रकम रसुवाका बाढीपीडितको हितमा खर्च हुने गरी स्थानीय तहमा पठाइनेछ।

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रकम जम्मा हुने जानकारी पाएपछि भण्डारीले अर्थमन्त्रीसँग आफू ढुक्क भएको बताएका थिए। ‘हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै–खोज्दै आएको,’ भण्डारीले अर्थमन्त्रीलाई भने।

विपद्को समयमा ठूलो रकम सहयोग गर्ने संस्थागत दाताहरूबीच ७८ वर्षीय एक वृद्धले आफ्नो व्यक्तिगत बचतबाट पटक–पटक गरेको यो सहयोगले नागरिक तहबाट देखिएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार  १८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।