काठमाण्डौँ । नाडा अटोमोवाइल्स एशोसिएशनले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार एशोसिएशनका अध्यक्ष सुरेन्द्रकुमार उपेत्री नेतृत्वको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
गत बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पर्याउन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नाडाले नगद सहयोग उपलब्ध गराएको जनाएको छ ।
यसका साथै, नाडाले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ । नाडाले विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई समेत निरन्तरता दिइरहेको बताएको छ । प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाले जनाएको छ ।
बिहीबार अर्थमन्त्रालयमा सहभागी प्रतिनिधि मण्डलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया