बुध्द एयरको नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु

राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायम रहने


काठमाडौँ । बुध्द एयरले आफ्नो नयाँ सिरिजको एटीआर–७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान नाइनएन–एओएस कलसाइन भएको उक्त जहाजले काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडान भरेको थियो ।

बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो । त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्नुका साथै रंगरंगोनका काम सम्पन्न गर्न करिब एक महिना लागेको थियो ।

यस एटीआर ७२(६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको बुद्ध एयरले जनाएको छ।

कम्पनीका अनुसार क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ। जहाजमा आरएनपी(एआर नेभिगेशन प्रणालीसमेत जडान गरिएको छ, जसले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्था पनि उडान तथा अवतरणलाई थप सहज बनाउँछ।

यात्रुको सिट, ओभरहेडबिन पहिलेको सिरिजभन्दा ठूलो रहेको छ। जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनी प्रदूषण पहिलाको सिरिजभन्दा निकै कम हुने पनि विज्ञप्तिमा जनाइएको छ।

बुद्ध एयरले केही समयभित्र थप एक अर्को एटीआर–७२–६०० सिरिजका जहाज भित्र्याउने तयारी पनि गरेको छ।

बुद्ध एयरसँग १४ वटा एटीआर–७२–५०० एवं १ वटा एटीआर–७२–६०० जहाजहरु रहेका छन्। विगत यता २ वटा एटीआर जहाजहरु उडानबाट बिदाइ गरिसकेको छ। त्यसैगरी एउटा एटीआर ४२–३२० जहाजको थोरै उडान साईकल हुँदा पार्टआउटका लागि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो।

हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिबद्धताअनुरुप बुद्ध एयरले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको जनाएको छ। थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुढृढ बनाउने कम्पनीको भनाइ छ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकोता साताको ४ दिन उडान भरिरहेको छ । यसैगरी पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ।

राजमार्ग सहज नहुँदा दशैँ, तिहार र छठपूजासम्म सस्तो भाडादर

सडक आवागमन सहज नहुँदासम्म बुद्ध एयरले न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने पनि जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतका अनुसार उक्त भाडादर नेपालीहरुका प्रमुख चाडपर्व दशैँ, तिहार तथा छठसम्म कायम रहनेछ।

भदौ १० मा रसुवामा आएको भीषण बाढीका कारण राजमार्गलगायत सडक पूर्वाधारमा क्षति पुगेपछि विभिन्न सडक आवागमन प्रभावित भएको छ। नागरिक सहजताका लागि बुद्ध एयरले भाडामा सहुलियत दिन लागेको हो।

‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो’, कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘यसैकारण राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौँ।

बस्नेतका अनुसार सस्तो भाडादरमा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने निश्चित छ। तर राष्ट्रलाई आवश्यकता परेको अवस्थामा यस्तो कदम चाल्नुपर्ने आफ्नो दायित्व भएको उनको भनाइ छ। ‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला । अहिलेको परिस्थितिमा हामी सबैले हृदयदेखि नै योगदान गर्नुपर्छ’, उनले भने ।

राहत सामग्रीको निःशुल्क हवाई ढुवानी

बुद्ध एयरले बाढी प्रभावित विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निःशुल्क ढुवानी गरेको छ। अहिलेसम्म उसले ७ हजार ३ सय २२ केजी निःशुल्क ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिसकेको छ।

भद्रपुरबाट १०५ केजी, भरतपुरबाट २ हजार १८८ केजी, सुर्खेतबाट १२० केजी, धनगढीबाट १ हजार ६६५ केजी, विराटनगरबाट २७२ केजी राहत सामग्रीको ढुवानी गरेको छ। त्यसैगरी भैरहवाबाट २ हजार ४८ केजी, सिमरा, पोखराबाट ७५५ केजी र नेपालगञ्जबाट २६ केजी राहत सामग्री ढुवानी गरेको बुद्ध एयरले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १३ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।