प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै


काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ ।

भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका स्थानीय तहले एक करोड ४७ लाख ४३ हजार ४३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

जिल्लाका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।

सत्यवती गाउँपालिकाले ३० लाख ६८ हजार ३९१ रुपैयाँ, इस्मा गाउँपालिकाले २१ लाख एक हजार ६९६ रुपैयाँ, रुरु क्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार रुपैयाँ र कालीगण्डकी गाउँपालिकाले १९ लाख ५५ हजार १५६ रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

चन्द्रकोट गाउँपालिकाले १४ लाख रुपैयाँ, धुर्कोट गाउँपालिकाले १३ लाख ३७ हजार रुपैयाँ, रेसुङ्गा नगरपालिकाले १० लाख रुपैयाँ, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख रुपैयाँ, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८०० रुपैयाँ र मालिका गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले भोटेकोशी बाढीपीडितका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोग स्वरूप रकम उपलब्ध गराएको प्रमुख मोहनकुमार राईले जानकारी दिए ।

विराट ग्रुप, विराट नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ दाखिला गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम राहत कोषमा दाखिला गरिएको विराट ग्रुपका अध्यक्ष प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए ।

कोषमा ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सङ्कलन गरिएको थियो ।

भक्तपुरका दुई वटा विद्यालयले ९ लाख ५ हजार ३०४ रुपैयाँ राहत सङ्कलन गरेका छन् । रसुवामा गएको बाढी पीडितको राहतका लागि एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले उक्त रकम सङ्कलन गरेका हुन् ।

एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २६० रुपैयाँ आज प्रधानमन्त्री राहत कोषमा दाखिला भएको सो विद्यालयका प्रधानाध्यापकले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।