‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’


काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको सूचना पाइएको जानकारी दिए ।

पहिरोले अपिहिमाल आधार शिविर जाने मार्ग भने अवरुद्ध गरेको उहाँले राससलाई जानकारी दिए । “अहिले पहिरो झर्नेक्रम रोकिएको छ, थुनिएको नदी खुलिसकेको छ”, उनले भने ।

सो ठाउँमा विगतमा पनि पहिरो गएको उनले सुनाए । पहिरोबाट नजिकैको वस्ती जोखिममा परेको छ । यद्यपि, आजको पहिरोले बस्तीमा क्षति पुगेको छैन । सो क्षेत्रबाट माथि अपिहिमालको आधार शिविर पर्दछ ।

यसअघि पहिरो खसेर सो नदी केही थुनिएको सूचना प्राप्त हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।