शिवम सिमेन्टको साधारण सभाले पारित गर्यो लाभांश


शिवम सिमेन्टको साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशलाई साधारण सभाले पारित गरेको हो ।

सोमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशतले हुने ६९ करोड ४७ लाख ३८ हजार रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण शेयर निष्काशन पश्चात पहिलो पटक कम्पनीको साधारण सभा भएकाले धेरै लगानीकर्ताले चासोका साथ हेरेका थिए ।

साधारण सभालाई सम्बोधन गर्दै शिवम सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयलले आगामी दिनमा शेयरधनीहरूलाई निराश नपार्ने दाबी गरे। उनले भने, ‘अब हामी शेयरधनीलाई पनि बिश्वासमा लिएर अघि बढ्छौं । शेयरधनीलाई निराश बनाउने शैलीमा हामी आगामी वर्षहरुमा लाभांस प्रस्ताव गर्दैनौं ।’

साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अलका गोयल ४ बर्षका लागि सञ्चालकमा निर्बिरोध चयन भएकी छन् ।