बाल दिवसमा जोडियो पीडाबीचको मित्रता, सहिदका सन्तान र बाढी प्रभावित बालबालिका एउटै थलोमा


नुवाकोट । पीडा फरक थियो, परिस्थिति फरक थियो, तर बालमनले भोगेको चोट उस्तै। कोही एक वर्षअघि भएको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोही यही भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरबार र आफन्त गुमाएर विस्थापित भएका थिए। दुःख र अभावको यस्तै परिवेशबाट गुज्रिरहेका बालबालिकाले भने राष्ट्रिय बाल दिवसका दिन केही समय आफ्ना पीडा भुलेर खेल्दै, रमाउँदै र नयाँ साथी बनाउँदै बिताए।

बालबालिकाको खेल्ने, रमाउने, मनोरञ्जन गर्ने र आफ्नो बालापन बाँच्ने अधिकारलाई ध्यानमा राख्दै गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले नुवाकोटमा विशेष बाल दिवस कार्यक्रम आयोजना गरेको हो। त्रिशूली नदी किनारमा आयोजित कार्यक्रममा जेनजी आन्दोलनका सहिदका सन्तान र भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिका एउटै थलोमा भेला भएका थिए।

कार्यक्रममा उनीहरूले एकअर्कासँग परिचय गरे, खेलमा सहभागी भए, रमाइलो गरे र नयाँ मित्रता कायम गरे। फरक पीडा र पारिवारिक पृष्ठभूमिबाट आएका बालबालिकाबीच छोटो समयमै आत्मीयता बढेको थियो।

गोल्याण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेका अनुसार फाउण्डेशनले दुवै समूहका बालबालिकाका लागि काम गरिरहेको अवस्थामा बाल दिवसलाई उनीहरूलाई एउटै ठाउँमा ल्याउने अवसरका रूपमा उपयोग गरिएको हो।

फाउण्डेशनले पछिल्लो एक वर्षदेखि जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका सन्तानको शिक्षाका लागि सहयोग गर्दै आएको छ। बाढीपछि भने विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई भोजन, बालमनोसामाजिक परामर्श, खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ।

“यही अवस्थामा हामीले बालबालिकालाई एकै ठाउँमा राखेर बाल दिवस मनाउनुपर्छ भनेर विदुरमा यो कार्यक्रम आयोजना गरिएको हो,” गैह्रेले भनिन्।

कार्यक्रमका लागि गोल्याण फाउण्डेशनले काठमाडौंमा अध्ययनरत जेनजी आन्दोलनका १५ जना सहिदका बालबालिका र उनीहरूका अभिभावकलाई नुवाकोट ल्याएको थियो। चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका करिब ६० जना बाढी प्रभावित बालबालिका पनि कार्यक्रममा सहभागी भएका थिए। बालबालिका र उनीहरूका अभिभावकसहित कार्यक्रममा करिब १२० जनाको सहभागिता रहेको थियो।

बाल दिवसको अवसरमा बालबालिकालाई औपचारिक कार्यक्रमभन्दा पनि मनोरञ्जन र आपसी अन्तरक्रियामा सहभागी गराउने उद्देश्यले फेस पेन्टिङ, विभिन्न खेल तथा अन्य बालमैत्री गतिविधि सञ्चालन गरिएको थियो। खेल र मनोरञ्जनका क्रममा फरक परिवेशबाट आएका बालबालिकाबीचको दूरी छोटिँदै गएको थियो।

एकअर्काका लागि अपरिचित रहेका बालबालिका केही समयमै खेलका साथी बने। उनीहरूले सँगै हाँसे, खेले र रमाए। यस क्रममा बनेको मित्रताको सम्बन्धले भविष्यमा समेत उनीहरूलाई जोडिराख्ने विश्वास आयोजकले लिएको छ।

बाढी प्रभावितसमेत रहेका विदुर नगरपालिका–५ का वडा सदस्य विनोद चित्रकारले फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित बालबालिकालाई एउटै थलोमा भेला गराएर बाल दिवस मनाउनु निकै प्रभावकारी भएको बताए।

“फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित भएका बालबालिकालाई एकै थलोमा भेला गरेर बालअधिकार दिवस मनाउने कामले निकै राम्रो प्रभाव छोडेको छ,” उनले भने, “गोल्याण फाउण्डेशनको यो कार्यले बालबालिकालाई खुसी प्रदान गर्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको छ।”

कार्यक्रममा सहभागी सहिद परिवारकी सदस्य पार्वती अधिकारीले बाल दिवसको कार्यक्रमले बालबालिकाको मुहारमा खुसी थपेको बताइन्। एक वर्षदेखि फाउण्डेशनको सहयोगमा अध्ययन गरिरहेका सहिदका सन्तानले बाढी प्रभावित क्षेत्र पुगेर नयाँ साथी बनाएको र आफूहरूले समेत बाढीपीडित परिवारले भोगेको पीडा बुझ्ने अवसर पाएको उनको भनाइ छ।

“एक वर्षदेखि साथी बनेका हाम्रा सहिदका बालबच्चाहरूले त्यहाँ गएर नयाँ साथीहरू बनाए, हामीलाई पनि बाढी प्रभावितको पीडा बुझ्ने अवसर मिल्यो,” उनले भनिन्, “यसबाट जीवनमा दुःख, पीडा जेजस्तो आइलागे पनि सहनुपर्छ भन्ने शक्ति मिलेको छ।”

गोल्याण फाउण्डेशनकी सीईओ गैह्रेले सानै उमेरमा ठूलो क्षति व्यहोर्न बाध्य भएका बालबालिकाको मुहारमा मुस्कान फर्काउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। उनका अनुसार बालबालिकाले भोगेको क्षतिलाई सम्बोधन गर्न भौतिक सहयोगसँगै उनीहरूको मानसिक तथा भावनात्मक अवस्थालाई पनि ध्यान दिन आवश्यक छ।

“फाउण्डेशनले एक वर्षदेखि सहिदका सन्तानको शिक्षाको अधिकार मजबुत बनाइरहेको छ, पछिल्लो समय बाढी प्रभावितका लागि होल्डिङ सेन्टरमा भोजन र व्यवस्थापकीय काम गरिरहेको छ,” उनले भनिन्, “त्योभन्दा ठूलो कुरा हामीले बालबालिकाको बालसुलभ निर्दोषपन जोगाउन र उनीहरूको खुसी हुने अधिकारको सम्मान गर्न सकेका छौं।”

बालबालिकाले हाँस्न पाउने, आफ्ना असीमित सपना देख्न पाउने र बाल्यकालका खुसी तथा अवसरहरूको आनन्द लिन पाउने वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको गैह्रेले बताइन्। विपद् वा अभिभावक गुमाउनेजस्ता घटनाले बालबालिकाको मनोविज्ञानमा गहिरो असर पार्न सक्ने भएकाले उनीहरूलाई सुरक्षित वातावरणमा खेल्ने, रमाउने र साथीहरूसँग घुलमिल हुने अवसर दिनुपर्ने उनको भनाइ छ।

गोल्याण फाउण्डेशनले जेनजी आन्दोलनका सहिदका ३१ जना बालबालिकालाई कक्षा १२ सम्मको शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। फाउण्डेशनका अनुसार प्रत्येक बालबालिकालाई मासिक ४० हजार रुपैयाँका दरले शैक्षिक सहयोग उपलब्ध गराइएको छ। यसअनुसार एक विद्यार्थीले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिकवृत्ति प्राप्त गर्नेछन्।

फाउण्डेशनले शिक्षा क्षेत्रमा सहयोग गर्नुका साथै विपद्बाट प्रभावित बालबालिकाको तत्कालीन आवश्यकता र मनोसामाजिक अवस्थालाई समेत सम्बोधन गर्दै आएको जनाएको छ। बाल दिवसको अवसरमा गरिएको यस कार्यक्रमले फरक पीडा बोकेका दुई समूहका बालबालिकालाई एकै ठाउँमा ल्याएर केही समयका लागि भए पनि दुःख बिर्सन, रमाउन र नयाँ सम्बन्ध निर्माण गर्न अवसर दिएको छ।

बालबालिकाका लागि आयोजना गरिएको यो भेटघाट केवल एक दिनको मनोरञ्जनमा सीमित नभई पीडामा रहेका बालमनलाई खुसीको अनुभूति दिलाउने र एकअर्काको दुःख बुझ्ने वातावरण निर्माण गर्ने माध्यम बनेको आयोजकको भनाइ छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।