प्रधानमन्त्रीलाई भेटेर फर्किएका किस्पाङका अध्यक्ष तामाङ किन सिंहदरबार गेटबाटै पक्राउ परे ? यस्तो छ कारण


काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ प्रधानमन्त्री बालेन शाहसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा फरार रहेको आरोपमा प्रहरीले उनलाई सोमबार सिंहदरबार परिसरबाटै पक्राउ गरेको हो।

रसुवासहित बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा छलफल गरेका थिए। उक्त छलफलमा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पनि सहभागी भएका थिए। प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारको गेटबाट बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउपछि तामाङलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी वृत्त दरबारमार्गले गत वैशाख २८ गते काठमाडौं जिल्ला अदालतमा पक्राउ अनुमति माग्दै पत्र पठाएको थियो।

अरुण अर्यालको जाहेरीका आधारमा नेपाल सरकार वादी र वीरबल तामाङ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले अदालतसँग अनुमति मागेको थियो।

प्रहरीले अदालतमा पठाएको पत्रमा जाहेरी दरखास्त तथा बैंकिङ कारोबारसम्बन्धी विवरणबाट तामाङ घटनामा संलग्न रहेको देखिएको उल्लेख गर्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक रहेको जनाएको थियो।

प्रहरीको मागका आधारमा काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम तामाङका नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो। अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई सोमबार सिंहदरबार परिसरबाटै पक्राउ गरेको हो।

तामाङ नुवाकोटको किस्पाङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। काठमाडौं महानगरपालिका–१६, नयाँबजारमा उनको ‘ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर’ नामक व्यवसायसमेत सञ्चालनमा रहेको बताइएको छ।

प्रहरीका अनुसार बैंकिङ कसुरको मुद्दाबाहेक तामाङमाथि ठगीसम्बन्धी थप आरोपसमेत रहेको बताइएको छ। ती आरोपबारे पनि अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ।

यसरी बाढी प्रभावित क्षेत्रका समस्या र पुनःस्थापनाबारे प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिने क्रममा पक्राउ परेका हुन्।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।