गण्डकी । पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । महानगरका ३३ वटै वडाको झन्डै सात लाख कित्ताको भूउपयोग वर्गीकरण गरिएको छ ।
महानगरप्रमुख धनराज आचार्यका अनुसार ‘भूउपयोग ऐन २०७६’ तथा ‘भूउपयोग नियमावली २०७९’ बमोजिम भूउपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको हो ।
महानगरपालिकाको भूउपयोग परिषद्को सिफारिस र नगर कार्यपालिकाको निर्णयअनुसार उक्त भूउपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।
भूउपयोग वर्गीकरण विवरणका आधारमा प्रचलित कानुनबमोजिम भूमि प्रशासन तथा नापीसम्बन्धी अभिलेख, नक्सा तथा अन्य आवश्यक कामका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई महानगरले पत्राचार गरेको छ ।
सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ ।
भूउपयोग वर्गीकरणसँगै कित्ताकाट, जग्गाको कारोबारलगायत काममा नागरिकलाई सहजता थपिने महानगरप्रमुख आचार्यको भनाइ छ । रासस





प्रतिक्रिया