यी सडकमा यातायात प्रभावित


काठमाडौँ । देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी, पहिरो र सडक निर्माणका कारण यातायात प्रभावित भएको छ। सडकको पछिल्लो अवस्थासम्बन्धी विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही प्रमुख सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्।

बागमती प्रदेशमा रसुवाको मुख्य राजमार्ग खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै नुवाकोटको टोखा–छहरे सडकखण्ड तथा पासाङल्हामु सडकखण्ड समेत अवरुद्ध अवस्थामा छन्।

धादिङमा पृथ्वी राजमार्गको बेनीघाट रोराङ क्षेत्रका विभिन्न स्थानमा पहिरो गएपछि यातायात प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा सडकको अवस्थाअनुसार सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ। यात्रुवाहक तथा अन्य सवारी साधनलाई सडकको अवस्था हेरेर सावधानीपूर्वक आवागमन गर्न भनिएको छ।

त्यस्तै, गण्डकी प्रदेशको मनाङमा चामे–बेँसीसहर सडकखण्डमा सडक निर्माणका कारण साना सवारी साधन मात्र सञ्चालनमा रहेका छन्।

कर्णाली प्रदेशको हुम्लामा कर्णाली करिडोरको एक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको विवरणमा उल्लेख छ।

सडक विभागको विवरणअनुसार अवरुद्ध सडक खुलाउने तथा प्रभावित सडकखण्डमा यातायात सहज बनाउने प्रयास भइरहेको छ। वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।