काठमाडौँ। काठमाडौँको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
उक्त स्टोरबाट ग्राहकलाई भोलि सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाट–भटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरेको बताए ।
उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको छ ।
‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ,’ गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ।
दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी रहेको उनले बताए । यी स्टोरबाट पनि ग्राहकले पुनः छिट्टै सेवा पाउने लक्ष्य कम्पनीको रहेको उनले बताए । पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको कम्पनीको भनाइ छ ।






प्रतिक्रिया