बागलुङ । बागलुङमा फैलिएको डेंगी नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ ।
गत साउनयता जिल्लामा एक हजार ४०३ जनामा डेंगी संक्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमूना संकलन र अध्ययनमा लागेको हो ।
डेंगीको दीर्घकालीन समाधान गर्ने उद्देश्य राखेर समग्र अवस्थाको अनुसन्धान गर्न चारजनाको विज्ञ समूह बागलुङमा आएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए ।
उनका अनुसार, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गोकर्ण दाहालको नेतृत्वमा विज्ञ समूहले पछिल्लो तीन दिनयता बजारका घरघरमा पुगेर बिरामीको अवस्था बुझेको छ । यस्तै, धवलागिरि अस्पतालको अनुगमन, कीटको अवस्था परीक्षण तथा नमूना संकलनलगायत काम गरिरहेको छ ।
दाहालसँगै विज्ञ समूहमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य संगठनका शिशिर पन्त, स्वास्थ्य सेवा विभागका कौशल सुवेदी छन् । “डेंगीको चार प्रजातिमध्ये कुन बढी फैलिएको छ भन्ने अध्ययन भइरहेको छ ।
अस्पतालमा आएका शंकास्पद बिरामीको नमूना संकलन, अस्पतालमा परीक्षण भइरहेको कीटको अवस्था, डेंगी नियन्त्रणका लागि घरमै स्वास्थ्यकर्मी परिचालन भइरहेको छ”, कार्यालय प्रमुख शर्माले भने ।
डेंगीको अवस्था नियन्त्रणबाहिर जान नदिन विज्ञ समूह परिचालन गरेको महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज–अनुसन्धान तीव्र बनाएको छ । रासस







