कोशीमा डेंगु फैलिँदै, झापामा संक्रमितको संख्या सबैभन्दा धेरै


झापा । कोशी प्रदेशमा डेंगु संक्रमण बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ। संक्रमितको संख्या सबैभन्दा बढी झापामा रहेको छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशभर ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

झापामा मात्रै २२८ जना संक्रमित भएका छन्। त्यसपछि सुनसरीमा २०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। ओखलढुंगामा १२२ र खोटाङमा ८२ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, संखुवासभामा १८, मोरङमा २०, धनकुटामा चार, सोलुखुम्बुमा तीन, तेह्रथुममा तीन र ताप्लेजुङमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

उक्त अवधिमा विभिन्न जिल्लाका अस्पतालमा डेंगु संक्रमणका ५१ सम्भावित र दुई शंकास्पद बिरामी उपचाररत रहेको लुईँटेलले जानकारी दिए।

डेंगु संक्रमणको जोखिम बढ्दै गएकाले लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने तथा समुदायस्तरमा सरसफाइ र सचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।