विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च झण्डै ३ गुणा बढी


काठमाडौँ । पछिल्लो समय नेपालीहरुको विदेश भ्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ । वैदेशिक रोजगारी, अध्ययन तथा स्थायी बसोबासका लागि विदेश जाने नेपालीको संख्या विगतदेखि नै ठूलो रहे पनि अहिले घुमफिर, तीर्थयात्रा, व्यवसाय, सम्मेलन तथा व्यक्तिगत कामका लागि समेत विदेश जाने क्रम बढिरहेको देखिन्छ । यससँगै नेपालीको विदेश भ्रमणमा हुने खर्चले मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाणसमेत बढाइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना(साउन) मा मात्र नेपालीहरुले विदेशमा गरेको खर्च ४७ अर्ब ४२ करोड १ लाख रुपैयाँ नाघेको छ । जुन विदेशीहरुले नेपालमा गर्ने खर्चको झण्डै ३ गुणा बढी हो । समिक्षा अवधीमा विदेशीहरुले नेपालमा १६ अर्ब २८ करोड ७ लाख रुपैयाँ मात्र खर्च गरेका छन् ।

अध्यागमन विभागको अनुसार, पछिल्लो समय तीर्थयात्राका लागि विदेश जाने नेपालीको संख्या उल्लेख्य रहेको छ । यसबाहेक व्यवसाय, स्वास्थ्य उपचार, शिक्षा, भ्रमण र सांस्कृतिक कार्यक्रमका लागि पनि नेपाली विदेश जाने गरेका छन् ।

घुमफिरका लागि मात्रै १५ अर्ब विदेशियो

नेपालमा विदेश भ्रमणलाई केही वर्षअघ सम्म उच्च आय भएका सीमित वर्गको गतिविधिका रूपमा हेर्ने गरिन्थ्यो । तर पछिल्लो समय विदेश घुम्ने संस्कृति विस्तार हुँदै गएको देखिन्छ । वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी, बढ्दो मध्यमवर्ग, सामाजिक सञ्जालको प्रभाव, अन्तर्राष्ट्रिय हवाई सम्पर्कको विस्तार तथा विभिन्न देशको भ्रमणसम्बन्धी सहज सूचनाले पनि विदेश भ्रमणको आकर्षण बढाएको पर्यटन व्यवसायीहरूको बुझाइ छ ।

साउनमा मात्रै नेपालीहरुले विदेश भ्रमणमा १५ अर्ब ९२ करोड १ लाख रुपैयाँ खर्चिएका छन् । तर विदेशीहरुले ५ अर्ब ४३ करोड १ लाख रुपैयाँमात्र खर्च गरेको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी भ्रमण आय भन्दा व्यय खर्च बढी हुँदा मुलुकको सेवा १० अर्ब ४९ करोड घाटामा रहेको छ ।

विदेश भ्रमणको गन्तव्य पनि विस्तार हुँदै गएको छ । भारतसँगको खुला सीमाका कारण त्यहाँ हुने आवतजावतको तथ्यांक चुनौतीपूर्ण भए पनि हवाई यात्रामार्फत जानेको संख्या यकिन रहनेछ ।

नेपालीको विदेश भ्रमण बढ्नुले देशभित्रको ट्राभल तथा टुर व्यवसायलाई भने विस्तार गरेको छ । विदेश भ्रमणका लागि टिकट, होटल, ट्राभल प्याकेज, भिसा सहजीकरण, विदेशी मुद्रा सटही लगायत अन्य सेवाको माग बढेको ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्म शेर्पाले बताए ।

उनका अनुसार, कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालीहरुलाई लक्षित गरि हवाई टिकटमा विशेष छुट प्रदान गर्दै आएका छन् । जस्ले गर्दा पनि नेपालीहरु विदेश भ्रमणमा जान आकर्षित भएका हुन् ।

नेपालीहरु विशेषगरि थाईल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, भारत र हङकङ लगायतका भ्रमण गर्न रुचाउने गरेको उनले बताए । खासगरी नेपालीहरुका लागि सहज र सस्तो गन्तव्य भारत बनेको छ ।

नेपालमा भने भारत, चीन, अमेरिका, थाइल्यान्ड, युके, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, म्यानमार, जर्मनी, जापान, मलेसिया, साउथ कोरिया, अस्ट्रिया, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, इटाली, नर्वे, पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, स्पेन, स्विडेन, युक्रेन, क्यानडा, न्युजिल्यान्ड, इजरायल, टर्कीलगायत देशबाट सबैभन्दा धेरै पर्यटक आउने गर्छन् ।

अन्य शीर्षकमा कति भए खर्च ?

एक महिनाको अवधीमा व्यवसायिक प्रयोजनमा नेपालीहरूले ३४ करोड ३ लाख रुपैयाँ खर्च गरेका छन् । उक्त शीर्षकमा विदेशीहरुले ५ लाख रुपैयाँ मात्र खर्च गरेका छन् ।

त्यस्तै, स्वास्थ्य उपचारमा नेपालीहरुले विदेशमा १ करोड २ लाख रुपैयाँ खर्च गरेका छन् । स्वास्थ्य उपचारमा भने नेपालीहरुले भन्दा विदेशीहरुले नेपालमा गरेको खर्च बढी रहेको छ । समिक्षा अवधीमा स्वास्थ्य उपचारमा विदेशीहरुले ४ करोड ४ लाख रुपैयाँ खर्च गरेका छन् ।

त्यस्तै, नेपालीहरुले विदेशमा शिक्षामा १० अर्ब ८० करोड ४ लाख रुपैयाँ खर्च भएको छ भने अन्य शीर्षकमा ४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।