भारतको नयाँ भन्सार नीतिले नेपाली खानेतेल उद्योगलाई धक्का


काठमाडौँ । भारत सरकारले तेलको आयातमा भन्सार दर घटाएको छ । भारत सरकारले सेप्टेम्बर २४ देखि लागू हुने गरी खाने तेलको कच्चा तथा प्रशोधित दुवै प्रकारको आयातमा भन्सार घटाएको हो ।

खानेतेल आयातमा लाग्ने भन्सार शुल्क घटाएपछि यसको प्रभाव नेपालका खानेतेल उद्योग र भारततर्फ हुँदै आएको नेपाली तेलको निर्यातमा पर्ने भएको छ ।

भारतले क्रुड सनफ्लावर तेल आयात गर्दा लाग्ने भन्सार शुल्क १० प्रतिशतलाई पूर्ण रुपमा हटाएर शून्य प्रतिशत पु¥याएको छ । यता नेपालले क्रुड सनफ्लावर तेल आयात गर्दा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी २५ प्रतिशत लाग्दै आएको छ ।

त्यस्तै, क्रुड पाम आयलमा आयाततर्फ भारतले पहिलेको भन्सार शुल्क १० प्रतिशतलाई घटाएर ५ प्रतिशतमा पु¥याएको छ । नेपालमा भने भन्सार महसुल १० र मूल्य अभिवृद्धि शुल्क १३ प्रतिशत गरी करिब २५ प्रतिशत लाग्ने गरेको छ ।

पछिल्लो नीतिगत परिवर्तनअघि भारतमा कच्चा पाम, कच्चा भटमास र कच्चा सूर्यमुखी तेलको आयातमा ५ प्रतिशत जीएसटीसहित अन्य सबै कर तथा उपकर जोडेर करिब १६.५ प्रतिशत प्रभावकारी भन्सार महसुल लाग्दै आएको थियो ।

नयाँ सूचना लागू भएसँगै कच्चा पाम र कच्चा भटमास तेलमा आधारभूत महसुल ५ प्रतिशतमा झरेपछि त्यसमा लाग्ने उपकरहरू समेत समायोजन हुँदा कुल प्रभावकारी आयात महसुल १६.५ प्रतिशतबाट घटेर ११ प्रतिशतमा सीमित हुन पुगेको छ ।

भारतीय रिफाइनरीहरूले तेस्रो मुलुकबाट कच्चा पाम र भटमास तेल आयात गर्दा तिर्नुपर्ने कुल कर लागतमा करिब ५.५ प्रतिशत बिन्दुको प्रत्यक्ष राहत प्राप्त गरेका छन् ।

अझ सूर्यमुखी तेलको हकमा यो अन्तर निकै फराकिलो देखिएको छ । कच्चा सूर्यमुखी तेलको आधारभूत महसुल नै शून्यमा झारिएकाले अब त्यसमा उपकरको भार मात्र रहनेछ । यसले गर्दा प्रभावकारी आयात महसुल १६.५ प्रतिशतबाट घटेर ५.५ प्रतिशतमा आइपुगेको छ ।

यसले गर्दा भारतीय प्रशोधनकर्ताहरूलाई कच्चा सूर्यमुखी तेल खरिद गर्दा सिधै ११ प्रतिशत बिन्दु बराबरको भारी भन्सार सहुलियत मिलेको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बजारमा बढिरहेको खानेतेलको मूल्य र त्यसबाट सिर्जित मुद्रास्फीतिको दबाब कम गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

भारतको यो निर्णयले सबैभन्दा पहिले नेपाली खानेतेल उद्योगको भारत निर्यात व्यापारलाई असर गर्ने देखिएको छ । नेपालका उद्योगहरूले अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसिया, मलेसिया लगायतका मुलुकबाट कच्चा सोयाबिन, सूर्यमुखी तेल आयात गरी नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका छन् ।

भारतमा प्रशोधित तेलको तुलनात्मक रूपमा उच्च आयात शुल्क रहेको अवस्थामा नेपालमा प्रशोधन गरेर भारतमा शून्य भन्सार सुविधामा तेल पठाउँदा नेपाली उद्योगले भारतीय बजारमा प्रतिस्पर्धात्मक लाभ पाउँदै आएका थिए ।

तर अब भारतमै कच्चा तेलको आयात शुल्क घटेपछि भारतीय उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल सस्तोमा आयात गरेर आफ्नै देशमा प्रशोधन गर्न सक्ने अवस्था बनेको छ । यसले नेपालमा प्रशोधन गरेर भारत पठाइने तेलको लागत प्रतिस्पर्धात्मक लाभ घटाउने उद्योगीहरूको बुझाइ छ ।

भारतको नयाँ नीतिले तेलको लागत मूल्य घटेर सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेछ भने नेपाली उद्योगीहरूले पनि भारतीय बजारमा टिकि रहनका लागि आफ्नो प्रशोधित तेलको बिक्री मूल्य घटाउनै पर्ने चुनौती खडा भएको नेपाल तेल उत्पादक संघका अध्यक्ष विकास दुगडले बताएका छन् ।

‘नेपालभित्र सोयाबिन, सूर्यमुखी वा पामको व्यावसायिक र ठूलो परिमाणको खेती नहुने भएकाले उद्योगहरू सतप्रतिशत कच्चा पदार्थका लागि बाह्य आयातमा निर्भर छन् ।’ उनले भने, ‘विभिन्न मुलुकबाट कच्चा पदार्थ आयात गरी त्यसलाई अत्याधुनिक रिफाइनरीमा प्रशोधन गरी पुनः भारतीय बजारमा निकासी गरिन्छ ।’

उनका अनुसार, भारतको पछिल्लो नीतिका कारण नेपाली उद्योगीहरु अब कच्चा तेल ल्याएर प्रशोधन गरी भारतमा निर्यात गर्नै नसक्ने अवस्थामा पुगेको छ । भारतको नीति हेरेर नेपाल सरकारले पनि स्वदेशी उद्योगलाई जोगाउन कच्चा तेलको आयातमा लाग्दै आएको भन्सार दर घटाउनुपर्ने उनको भनाई छ ।

भारततर्फ हुने तेल निर्यातको तथ्यांक

पछिल्लो समय नेपालबाट हुने तेल निर्यातमा उल्लेख्य वृद्धि आएको छ । तर उक्त तेल नेपाली उत्पादन भने नरहेको भन्सार विभागको तथ्यांकले प्रष्ट पारेको छ । मुलुकबाट हुने निर्यात र कच्चा पदार्थ आयातको तुलना गर्दा आयात नै बढी रहेको छ ।

विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा भारततर्फ ३६ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको १४ करोड ८४ लाख ८ हजार किलोग्राम सोयाबिन तेल, २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको ९२ लाख ४३ हजार लिटर सनफ्लावर तेल र २ अर्ब ५० करोड ७९ लाख रुपैयाँ बराबरको ७८ लाख ५२ हजार लिटर पाम आयल निर्यात भएको छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट भारततर्फ १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको ५० करोड ३८ लाख २३ हजार किलो सोयाबिन तेल, ८ अर्ब ९४ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको ६ करोड ९३ लाख ४४ हजार ९ सय लिटर सनफ्लावर तेल र ८ अर्ब ३७ करोड १५ लाख ३३ हजार रुपैयाँबराबरको ४ करोड १६ लाख ७६ हजार ५०० लिटर पाम आयल निर्यात भएको थियो ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।