भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने


भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा प्रदेश सरकारले सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आज यहाँ आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ कार्यक्रममा उनले उद्यान बनाएर त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने उद्देश्यले २०७३ सालमा उद्यान निर्माणको शिलान्यास गरेको थियो ।

वन तथा भूसंरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रका वन समेटेर राष्ट्रिय प्राणी उद्यान विकासको काम अघि बढाएको थियो । प्रस्तावित उद्यानमा सात सामुदायिक र राष्ट्रिय वनको केही भागसहित कुल २४५.१६५ हेक्टर वन क्षेत्र छ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।