राजश्व कार्यालयमा प्यान लिनेको भीड , सुर्खेतबाट दैनिक ५०० ले लिन्छन् प्यान

0
Shares

आन्तरिक राजश्व कार्यालय सुर्खेतमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ ।

आर्थिक वर्ष २०७६/२०७७ काे बजेट बक्तव्यमार्फत सरकारले यही  साउन १ गतेदेखि व्यवसाय, रोजगारी वा अन्य कुनै आयआर्जनमा जोडिएका प्रत्येक व्यक्ति, फर्म वा संस्थालाई प्यान अनिवार्य गरेपछि राजश्व कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लुमा पन्थीले सुर्खेत प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको सङ्ख्या अत्यधिक रहेको बताइन् । उनका अनुसार दुई महीनाको अवधिमा कार्यालयबाट नौ हजार ५०० जनाले प्यान लिएका छन् ।

दैनिक ५०० बढी सेवाग्राही व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन कार्यालय आउने गरेका उनकाे भनाइ छ । प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी सङ्केत नम्बर हो ।

प्यानका साथै भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि वृद्धि भएको कार्यालयले जनाएको छ । कर अधिकृत पन्थीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप रहे पनि कर्मचारीको सङ्ख्या भने निकै कम रहेको बताइन् । 

कूल २२ कर्मचारीको दरबन्दी भएको कार्यालयमा हाल सात जना कार्यरत छन् । सरकारले यस वर्षदेखि व्यवसाय वा आयआर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले प्यान लिनुपर्ने कानुनी प्रावधानलाई कडाइ गरेको छ ।