रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द


म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ ।

बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ । कालीगण्डकीको बाढी, पहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चूँडाएर क्षति पुर्याएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।