काठमाडौँ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ।
एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ संस्करणमा विभिन्न डिजिटल उपकरण तथा सुविधा समावेश गरिएको नेपा एपले जनाएको छ।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब लगायतका उपकरण थपिएका छन्।
पीडीएफ स्क्यान गर्ने सुविधामार्फत प्रयोगकर्ताले मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ फाइल बनाउन सक्नेछन्। त्यस्तै, क्यूआर कोड स्क्यानरबाट विभिन्न क्यूआर कोड सहजै स्क्यान गर्न सकिनेछ।
इन्टरनेट गति परीक्षण उपकरणमार्फत प्रयोगकर्ताले आफ्नो मोबाइल वा इन्टरनेटको गति परीक्षण गर्न सक्नेछन्। एकाइ रूपान्तरण तथा हिसाब गर्ने उपकरणले दैनिक जीवनमा आवश्यक पर्ने सामान्य गणना र विभिन्न एकाइ रूपान्तरणलाई सहज बनाउने एपको भनाइ छ।







