काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमैत्री बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो।
यस सम्मानले ग्राहकको दैनिक वित्तीय कारोबारलाई थप सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ बैंकले डिजिटल सेवामा गर्दै आएको निरन्तर सुधार र नवीन प्रयासलाई थप पुष्टि गरेको बैंकले जनाएको छ।
बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको छ।








