काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै बेलायतबाट नेपालमा रेमिट्यान्स कारोबार औपचारिक रूपमा सुरु भएको छ ।
सम्झौताअनुसार युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै रेमिट्यान्स सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंकलगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत सीधै जम्मा गर्न सकिनेछ ।
त्यस्तै, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय रेमिट्यान्सलाई सरल बनाउने लक्ष्यका साथ माछापुच्छ्रे बैंकले सुरक्षित, भरपर्दो, छिटो र किफायती डिजिटल रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको छ । रेमिट्यान्सले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज रेमिट्यान्स सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । बैंकले प्रचलित कानुन तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टरसहित जम्मा २५५ स्थानमा सेवा सञ्जाल विस्तार गरेको छ । साथै, १९४ वटा एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।








