एचआईडीसीएलले गत आर्थिक वर्षमा कमायो १ अर्ब १२ करोड खुद नाफा

0
Shares

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३८.७७ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८० करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले बैंक ब्याज बाटै नाफा बढेको हो ।
कम्पनीले बैंकहरुमा मुद्धति निक्षेपमा राखेको १४ अर्ब ६० करोड रुपैयाँबाट एक अर्ब ७३ करोड नै ब्याज आम्दानी गरेको छ ।

अन्य कम्पनीमा गरेको लगानीबाट एक करोड ७ लाख लाभांश पाएको छ । २ अर्ब ३३ करोड भन्दा बढी रकम जलविद्युत आयोजनाहरुमा कर्जा लगानी गरेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसाले बढेर १० रुपैयाँ १९ पैसा पुगेको छ । यसअवधिमा जलविद्युत कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा रहेको छ ।

जलविद्युत कम्पनीले हाल कायम ११ अर्ब रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । हकप्रदका लागि कल इन एडभान्समा संस्थापकहरुबाट ५ अर्ब ५० करोड संकलन गरिसकेको छ । यो हकप्रदपछि पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडाकोषमा समेत एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।