विश्व करदाता संघको सल्लाहकार बोर्डमा गोविन्द शर्मा गैह्रे नियुक्त


काठमाडौँ । नेपालका करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघको सल्लाहकार बोर्डमा नियुक्त भएका छन् ।

गैह्रेको नियुक्ति पोल्यान्डको क्राकोमा आयोजित विश्व करदाता संघको साधारणसभा तथा सम्मेलनका क्रममा भएको हो । उक्त सम्मेलन अक्टोबर ५ मा सम्पन्न भएको थियो । संघको साधारणसभाबाट भएको यस नियुक्तिले नेपालको करदाता अधिकार अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ ।

विश्वका ५ प्रतिशतभन्दा बढी देशका करदाता संगठनहरूलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्जाल डब्ल्यूटीएले करदाताको अधिकार संरक्षण, न्यायोचित कर प्रणाली, पारदर्शी सार्वजनिक खर्च तथा उत्तरदायी सरकारको अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ । गैह्रेको नियुक्तिलाई नेपालको करदाता अधिकारसम्बन्धी अभियान र अन्तर्राष्ट्रिय कर नीति संवादबीच सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

गैह्रे नेपाल करदाता कल्याण समाजका संस्थापक अध्यक्ष हुन् । उनले करदाताको हकहित संरक्षण, करसम्बन्धी जनचेतना अभिवृद्धि, कर प्रशासनमा सुधार तथा कर नीतिलाई थप पारदर्शी र उत्तरदायी बनाउने विषयमा निरन्तर पैरवी गर्दै आएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट, व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका गैह्रेले वित्तीय तथा सञ्चालन लेखापरीक्षण, वित्तीय नियमन र पुँजी बजारसम्बन्धी कानुनी तथा अनुपालनका विषयमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव हासिल गरेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।