सरकारले कहिले पूरा गर्ला कोरोना बीमाको दाबी भुक्तानीको दायित्व ?

0
Shares

कोरोना बीमाको दाबी भुक्तानीको दायित्व बहनमा सरकारले चासो नदेखाउँदा भुक्तानीमा समस्या देखिएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार भुक्तानीको दायित्व सरेको महिनौं बित्दा समेत पहिलो चरणमा माग गरिएको रकम सरकारले नदिएको हो । सरकारले रकम उपलब्ध नराएपछि त्यसको असर भुक्तानीमा देखिएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमा दाबी भुक्तानी बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले व्यहोर्नु पर्ने प्रावधान छ । प्रावधान अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो दायित्वमा परेको साढे ३ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गरीसकेका छन् ।

कोरोना बीमा मापदण्डको प्रावधान अनुसार बीमा समितिले चैत महिनामा नै कोरोना बीमा दाबी भुक्तानीको लागि सरकारसँग साढे ३ अर्ब रुपैयाँ माग गरेको थियो । माग गरिएको महिनां बितिसक्दा पनि सरकारले आफ्नो दायित्व बहन नगर्दा भुक्तानी नै रोकिएको छ । माग गरिएको रकम सरकारले नपठाउँदा बीमा कम्पनीहरुले कोरोना पोजेटिभ रिपोर्ट आएर बीमा दाबी गर्नुपर्ने भुक्तानी नै रोकेका छन् ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी एक अर्बभन्दा माथि दुई अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नु पर्नेछ । दुई अर्ब ५० करोडमाथि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा समितिले बहन गर्नुपर्ने हुन्छ ।

नोटबजारसँगको कुराकानीमा बीमक संघका महासचिव चंकी क्षेत्रीले वित्तीय अवस्था राम्रो भएका केही कम्पनीहरुले भुक्तानी गर्दै गरेको बताए । पहिलो चरणमा माग गरिएको रकम पुलमा पठाउनका लागि बीमा समितिले पहल गरी रहेको उनले बताए ।

सरकारले रकम पठाउने आशामा कम्पनीहरुले भुक्तानी गरिरहेका छन् । “संघले बीमा समितिमा पत्र पठाएर पहल गरि रहेको छ, समितिले पनि सरकारसँग भुक्तानीको रकम पुलमा पठाउनका लागि पहल भईरहेको, अर्थमन्त्रीसँग कुरा भईरहेको जानकारी दिएको छ” उनले भने । पछिल्लो समय देशमा जारी भएको निषेधाज्ञा र राजनीतिमा आएको अस्थिरताको कारण सरकारले पुलमा रकम पठाउन ढिलाई गरेको उनको भनाई छ ।

विश्वयापी रुपमा फैलिएको कोभिड १९ बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै गत वैशाखमा बीमा समिति र बीमा कम्पनीहरुले कोरोना भाइरस बीमालेखको अवधारण अघि सारेका थिए ।

उक्त बीमालेखको अवधि असार मसान्तसम्म मात्रै रहने उनले बताए । असार मसान्तसम्म भए पनि आजकल पनि कोरोना बीमालेख जारी हुने गरेको उनले बताए ।

पोलिसी जारी भए पनि पहिलेको तुलनामा निकै कम मात्रामा मात्रै पोलिसी जारी हुने गरेको उनले जानकारी दिए ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले रकम मागका लागि अर्थमन्त्री र अर्थ सचिवसँग कुरा भईरहेको बताए । कुराकानीमा चाडै नै रकम उपलब्ध गराउने प्रतिबद्धता गरेको सिलवालले बताए । “नेपाल सरकारका कर्मचारी नेपाल प्रहरी, निजामती कर्मचारीहरुको बीमा गरिएको राष्ट्रिय बीमा कम्पनीमा चाँही भुक्तानीको समस्या होला तर आम सर्वसाधारणमा प्राय जसो भुक्तानी भईरहेको छ ।” उनले भने ।

“रकम पठाउनका लागि समितिले अर्थमन्त्री, अर्थ सचिवसँग भेटेर कुरा गरिसकेको छ, अर्थ सचिवले पनि रकम पठाउँछु भन्नु भएको हो, कुराकानीमा रकम दिने प्रतिवद्धता दिनु भएको छ” सिलवालले भने । “कुराकानी पनि भयो, रकम आउँछ भन्ने प्रतिवद्धता पनि भयो, चाँडै रकम आउने विश्वासमा बसेका छौँ” उनले भने ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म कोरोना बीमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ । हालसम्म कोरोना बीमामा ९१ हजार ६७३ वटा दाबी परेका छन् । ती मध्ये कुल ६० हजार ५८७ वटा दाबीको भुक्तानी भएको छ । भने ३१ हजार ८६ वटा दाबीको दाबी भुक्तानी हुन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ जेष्ठ २०७८, सोमबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।