नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि तीन कम्पनीले दिए आवेदन

0
Shares

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि तीन कम्पनीले आवेदन दिएका छन् । सोमबारसम्म अन्नपूर्ण रि, काठमाडौँ रि र पु्रडेन्सियल रि गरी तीन कम्पनीले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका हुन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सोमबारसम्ममा तीन कम्पनीले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएको जानकारी दिए ।

समितिले प्रस्ताव आहवान गरेको अन्तिम मिति सकिन ३ दिन बाँकी रहँदा ३ कम्पनीले लाइसेन्सका लागि निवेदन दिएका हुन् ।

आवेदन दिएका कम्पनीमध्ये कुनै एकले मात्रै लाइसेन्स पाउने समितिले जानकारी दिएको छ । बजारको आवश्यकता, पुनर्बीमा सम्भाव्यता अध्ययन टोलीले दिएको सुझावका आधारमा कुनै एक कम्पनीले मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिने समितिको भनाई छ ।

समितिले वैशाख १७ गते एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको थियो । इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात जेठ ६ गते दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन् । पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पूँजी कम्तीमा १० अर्ब रुपैयाँ तोकेको छ ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाका लागि भन्दै इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि प्रस्ताव आह्वान गरेको थियो ।

समितिले प्रस्ताव आहवान गर्नु अगावै प्रुडेन्सियल रि इन्स्योरेन्स, अन्नपूर्ण रि इन्स्योरेन्स, काठमाडौं रि इन्स्योरेन्स र जेन्युन रिइन्स्योरेन्स लगायतका कम्पनीहरु नयाँ पुनर्बीमा कम्पनीको अनुमति लिने तयारीमा थिए । तयारीमा रहेको जेन्युन रिले भने समितिमा आवेदन दिन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।