राष्ट्र बैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र प्रभावकारी बन्दै


काठमाडौँ । नेपाल राष्ट्र बैंकको डिजिटल इनोभेसन हब (डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र) प्रभावकारी बन्दै गएको छ । वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउने तथा नयाँ वित्तीय सेवा विकास गर्न चाहने कम्पनीलाई नियामकीय सहजीकरण गर्ने उद्देश्यले यो केन्द्र सञ्चालनमा आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो हबमा ५० वटा व्यक्ति तथा संस्थासँग सहकार्य र परामर्श गरिएको हो । केन्द्रले २० वटा नवप्रवर्तनलाई बजारमा लैजान तयार अवस्थामा रहेको जनाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गत यो केन्द्र सञ्चालनमा रहेको छ । केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख गरिए अनुसार हालसम्म १४ वटा विषयमा नियामकीय स्पष्टता प्रदान गरिएको र तीनवटा नीतिगत सुझाव सम्बन्धित विभाग वा निकायमा पठाइएको छ ।

नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्न चाहने कम्पनीलाई विद्यमान कानुन, नीति तथा नियमबारे जानकारी गराउने उद्देश्यले यो केन्द्र स्थापना गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । यसका साथै उनीहरूका प्रस्तावको विश्लेषण गर्ने र आवश्यकताअनुसार गैरबाध्यकारी नियामकीय मार्गदर्शन उपलब्ध गराउने उद्देश्य रहेको छ । यसले नवप्रवर्तनकर्ता र नियामकबीच समन्वय सहज बनाउने अपेक्षा गरिएको पौडेलको भनाई छ ।

भुक्तानी र डिजिटल कर्जामा बढी आकर्षण

प्रतिवेदनअनुसार केन्द्रमा आबद्ध नवप्रवर्तनमध्ये सबैभन्दा बढी आकर्षण भुक्तानी प्रणाली र डिजिटल कर्जामा देखिएको छ । भुक्तानीसम्बन्धी १२ वटा र डिजिटल कर्जासम्बन्धी ११ वटा नवप्रवर्तन प्रतिवेदनमा समेटिएका छन् ।
त्यस्तै, कर्जा मूल्याङ्कनसँग सम्बन्धित सातवटा र डिजिटल पहिचानसम्बन्धी सातवटा नवप्रवर्तन उल्लेख गरिएका छन् । ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय सेवामा आबद्ध गर्ने प्रक्रियासँग सम्बन्धित पाँचवटा अवधारणा पनि प्रतिवेदनमा समेटिएका छन् ।

२० नवप्रवर्तन बजारमा लैजान तयार

केन्द्रको प्रभाव प्रतिवेदनअनुसार आबद्ध ५० नवप्रवर्तनमध्ये २० वटा बजारमा लैजान तयार अवस्थामा छन् । यो कुल नवप्रवर्तनको ४० प्रतिशत हो । त्यस्तै, सातवटा परीक्षणका लागि तयार छन् भने चारवटाको नमुना निर्माण भइसकेको छ ।
यसैगरी, सातवटा नवप्रवर्तन विकासको क्रममा, आठवटा अवधारणाको चरणमा र तीनवटा निकट भविष्यमा अघि बढाउने योजनामा छन् । एउटा नवप्रवर्तन सीमित प्रयोगकर्ता समूहमा परीक्षण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।