नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेको भएपनि निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने जनाएको छ ।
केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएतापनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न समेत चुनौतीपूर्ण हुने जनाएको हो ।

चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवाह संतोषजनक रहेतापनि विश्वव्यापी रुपमा कोभिड–१९ को नयाँ स्वरुपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धि कायम रहनु चुनौतिपूर्ण केन्द्रिय बैंकको भनाई छ ।
पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ । तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिन्छ । फलस्वरुप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहेपनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेतापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपँैया अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति छ । तापनि, आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमा भित्र रहने केन्द्रिय बैंकको भनाई छ ।
कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ्ग क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो । तर, कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ्ग क्षेत्रपनि प्रभावित हुने सम्भावना रहेको छ । पछिल्ला महिनाहरुमा बैकिङ्ग क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने देखिन्छ । तापनि, चालु आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको शुरुकोलक्ष्य भन्दा बढी नै कर्जा विस्तार हुने देखिन्छ ।
कोभिड–१९ को पहिलो लहर शुरु भएदेखि कर्जाको माग घटेको तर लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको हुनाले निक्षेप तथा कर्जाको व्याजदरहरु घट्दै गएका छन् । कर्जाको व्याजदरमा आएको कमीले गर्दा पछिल्ला महिनाहरुमा कर्जाकोमाग बढाउन सहयोग पुगेको छ । कर्जा माग उल्लेख्य ढंगले बढ्दा २०७७ चैत महिनापछि बैकिङ्ग क्षेत्रको तरलतामा कमी आइ अल्पकालीन व्याजदरहरु केही बढ्न गएका छन्। यसले गर्दा आगामी दिनमा कर्जा तथा निक्षेपको व्याजदर बढ्ने संकेत देखिएतापनि हालै गरिएको बन्दाबन्दीले नयाँ कर्जाको मागमा कमी आइ बैकिङ्ग क्षेत्रको तरलता र व्याजदरहरु सामान्य रहने केन्द्रिय बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया