धितोपत्र बजार पूँजीकरण पौने ३९ खर्ब, कुल ग्राहस्थ उत्पादन नजिक पुग्यो

0
Shares

नेपालको धितोपत्र बजार पूँजीकरण मंगलबार ३८ खर्ब ७६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनका आधारमा ९९ प्रतिशत हो ।

कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन र बैंकिङ्ग प्रणालीमा कायम भएको अधिक तरलताका कारण लगानीको क्षेत्र शेयर बजार पर्दा धितोपत्रको कुल बजार पूँजीकरण देशकै कुल ग्राहस्थ उत्पादनको नजिक पुगेको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६।७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।

जेठ ४ गते मंगलबार कायम भएको धितोपत्र बजार कुल पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ९८.८२ प्रतिशत हुन आउँछ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल बजार पूँजीकरण ३८ खर्ब ७६ करोड ९३ लाख रुपैयाँ रहेको छ । गत बैशाख २ गते कायम भएको नेप्सेको २७३५.४० बिन्दु तोड्दै आइतबार ५४, सोमबार २० र मंगलबार ३४ अंक बढीले बजार बढेर २७९३.८९ बिन्दुमा पुगेको छ भने कारोबार रकम पनि हालसम्मकै उच्च ११ अर्ब माथि पुगेको छ ।

दैनिक सूचक र कारोबार रकममा एकपछि अर्को रेकर्ड तोडिँदै जाँदा मंगलबार कारोबार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ पुगेको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीको मूल्य बढेसँगै आइतबार शेयर बजारको कुल बजार पूँजीकरण ३८ खर्ब ७६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । सोमबार ३८ खर्ब २८ अर्ब ८० करोड २७ लाख रुपैयाँ रहेको बजार पूँजीकरण मंगलबार मात्रै ४८ अर्ब १३ करोडले बढेको हो ।

कुल ग्राहस्थ उत्पादनको आधार शेयर बजार ‘फेयर भ्यालू’ बाट ‘ओभर भ्यालूड’ तर्फ गएको हो । पछिल्लो समयमा निरन्तर सुधार धितोपत्र बजारमा सूचीकृत धेरै शेयर मूल्य उच्च बिन्दुमा पुगेको हुनाले ओभर भ्यालुडको नजिक पुगेको हो ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

कोरोना भाइरसले आर्थिक गतिविधि अस्तव्यस्त भएपछि शेयर बजार भने निरन्तर नयाँ उचाई तर्फ देखियो । हरेक दिन जसो शेयर बजारले नयाँ रेकर्ड समेत बनाउँदै आएको छ । लगानीका क्षेत्र सीमित भएपछि उद्योगी व्यापारी लगायतले शेयर बजारलाई एक मात्र लगानीको क्षेत्र बनाएपछि निरन्तर बढ्दो क्रममा रहेको हो ।

अर्थतन्त्रको विपरित गतिमा निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ ।

धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।