कठमाडौँ । गत आर्थिक वर्षमा कोशी प्रदेशक आर्थिक गतिविधि मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको औद्योगिक क्षेत्रमा केही सुधार देखिए पनि कृषि, पर्यटन र काठ उत्पादनमा भने मन्दी छाएको छ ।
गत आर्थिक वर्षमा कोशी प्रदेशका उद्योगहरूको भारित औसत क्षमता उपयोग बढेर ४३.१ प्रतिशत पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यो क्षमता उपयोग ४१.८ प्रतिशत मात्रै थियो ।
उद्योगतर्फ हेर्दा भटमासको तेलमा उत्पादन गर्ने उद्योगमा उल्लेख्य सुधार आएको छ भने वनस्पति घिउ उत्पादनमा भने गिरावट आएको देखिन्छ । प्रतिवेदन अनुसार गत आवमा भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ११.८ प्रतिशत पुगेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.५ प्रतिशतमा खुम्चिएको छ ।
त्यस्तै, गत आवमा घरेलु धातुका सामानको उत्पादन २८७.८ प्रतिशत, भटमासको तेल ४५.३ प्रतिशत, तोरीको तेल ११.९ प्रतिशत र चामलको उत्पादन २८.१ प्रतिशतले बढेको छ ।
ग्त आर्थिक वर्षमा बैंकिङ क्षेत्रबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जामा सामान्य सुधार आएको छ । २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ८.२ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । यो कुल प्रवाहित कर्जाको २७.२ प्रतिशत हो ।
कृषि र वन क्षेत्रको उत्पादनमा ह्रास
कोशीको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३२.४७ प्रतिशत योगदान रहेको कृषि क्षेत्र गत आवमा निराशाजनक देखिएको छ । समग्र कृषि बाली उत्पादन १.२ प्रतिशतले घटेको छ भने कृषि बालीले ढाकेको क्षेत्रफलमा पनि ०.३ प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै, काठ उत्पादन ९.७ प्रतिशतले घटेर २ करोड ४८ लाख क्युबिक फिटमा झरेको छ । दुग्ध उत्पादनमा १३.२ प्रतिशतको वृद्धि भए पनि अन्डा उत्पादन ३.२ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाह भएको कर्जा १.१ प्रतिशतले घटेर ५५ अर्ब ६८ करोडमा सीमित भएको केन्द्रिय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
पर्यटन सुस्ताउँदा बैंकिङ क्षेत्र बलियो
गत आर्थिक वर्षमा यस प्रदेशमा पर्यटक आवागमनमा गिरावट आएको छ । प्रदेशको बाह्य पर्यटक आगमनमा २१.८ प्रतिशतले गिरावट आउँदा होटलहरूको औसत अकुपेन्सी दर ३९.२ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा झरेको छ ।
यसैबीच, बैंकिङ क्षेत्रमा भने उत्साहजनक प्रगति देखिएको छ । गत आवको अन्त्यसम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल १ हजार ८३६ शाखा पुगेका छन् । कुल निक्षेप परिचालन १६.१ प्रतिशतले बढेर ६ खर्ब ४१ अर्ब ९३ करोड र कुल कर्जा प्रवाह ४.२ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । सेवा क्षेत्रमा मात्रै ४ खर्ब ९ अर्ब ८१ करोड (कुल कर्जाको ६४.१%) कर्जा प्रवाह भएको छ ।
ऊर्जा क्षेत्रमा उल्लेख्य फड्को
जलविद्युत् विकासका हिसाबले कोशी प्रदेश थप समृद्ध बन्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आव २०८२र८३ मा मात्रै २०६.२ मेगावाट क्षमताका ७ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका छन् । यससँगै प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ९७७.२ मेगावाट पुगेको छ । कुल ६४ वटा सञ्चालित आयोजनामध्ये सोलुखुम्बु जिल्लामा मात्रै ३४९.८ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।
आर्थिक वृद्धि र आगामी सम्भावना
समीक्षा वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा) ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवमा कोशीको जीडीपीमा सेवा क्षेत्रको योगदान ४९.८५, कृषिको ३२.४७ र उद्योगको योगदान १६.६७ प्रतिशत रहने अनुमान गरिएको छ ।
अध्ययनले बसाइँसराइ र जंगली जनावरको त्रासबाट खेतीयोग्य जमिन जोगाउनुपर्ने तथा अलैँची, चिया र अदुवाजस्ता नगदे बालीको प्रवद्र्धन गर्नुपर्ने चुनौती औँल्याएको छ । साथै, सुनसरी–मोरङ औद्योगिक करिडोरको पूर्ण क्षमतामा सञ्चालन, आधुनिक कृषि प्रणालीको विस्तार तथा प्रमुख सहरहरू (विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड) मा पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरी ’स्वास्थ्य पर्यटन’ प्रवद्र्धन गर्न सकिने उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।








