एनएमबि बैंकको ऋणपत्रमा आवेदन गर्ने अन्तिम दिन, यस्ता छन् फाइदा

0
Shares

एनएमबि बैंक (NMB) ले जेठ २ गते आइतबारदेखि बिक्री खुला गरेको २ अर्ब बराबरको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ ।
 
बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
 
बैंकले बिक्रीमा ल्याएको ‘एनएमबि ऋणपत्र ८.५–२०८७।८८’ नामको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ ।
 
सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्काशनमा आएको ऋणपत्रका लागि मात्र लगानीकर्ताले आवेदन दिन सकिनेछ ।
 
ऋणपत्र खरीदका लागि छिटोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने व्यवस्था छ ।
 
कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ ।
 
उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
 
ऋणपत्र खरीद गर्दा लगानीकर्तालाई के फाइदा हुन्छ ?
 
ऋणपत्र खरीद गर्ने लगानीकर्तालाई बिक्री गर्ने सम्बन्धीत कम्पनीहरुले ऋणपत्र जारी गर्दा तोकिएको ब्याजदर अर्धवाषिर्क र बार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन् । जसले गर्दा यस डिबेन्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि बार्षिक रुपमा दिने भनीएको ब्याज प्रदान गर्ने ग्यारेन्टी हुन्छ ।
 
ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी) ले कम जोखिममा वार्षिक रुपमा निश्चित प्रतिशत ब्याज प्राप्त गर्न सक्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरुमा भईंरहने ब्याज दर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनुपर्दैन ।
 
कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानीमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।
 
शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सुचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ । यसबाट दोस्रो बजामा बिक्री गरी पूँजीगत लाभ समेत लिन सकिन्छ भने अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने तथा निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुन्छ ।
 
रकम फिर्ता हुने ऋणपत्र (रिडिमेबल डिबेञ्चर) तोकिएको समयमा साँवा र ब्याज भुक्तानी गर्ने शर्तमा निष्काशन गरिएको हुन्छ, जसले गर्दा लगानीकर्ताले साँवा रकम समेत फिर्ता पाउँछन् ।
 
त्यसैगरी, कतिपय ऋणपत्र शेयरका रुपमा परिणत हुने खालका समेत हुन्छन् । तर, नेप्सेमा सूचीकृत भएका ऋणपत्रको कारोबार नभएकाले ती ऋणपत्रको मूल्य स्थिर रहन्छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि यो ऋण पत्र लगानीको उत्तम विकल्प हुन्छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।