पर्यटनमा विदेशी लगानीकर्ताको आकर्षण बढ्यो, अन्य क्षेत्रमा कस्तो छ अवस्था ?


काठमाडौँ । विदेशी लगानीकर्ताका लागि पर्यटन र सेवा क्षेत्र मुख्य आकर्षणको क्षेत्र बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ता आकर्षित हुँदा लगानी प्रतिबद्धता धेरै आएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँको बराबरको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । जसमध्ये पर्यटन क्षेत्रमा मात्रै १०८ परियोजनामार्फत छ अर्ब आठ करोड २८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ । उक्त लगानीबाट कुल ५ हजार १२९ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।

यसैबीच, सेवा क्षेत्रका ३३ वटा परियोजनामा तीन अर्ब ५७ करोड ५४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्कले देखाउँछ ।

ऊर्जा क्षेत्रमा भने दुई परियोजनामार्फत चार अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । यस्तै उत्पादन क्षेत्रमा २५ परियोजनामार्फत एक अर्ब ६० करोड ५३ लाख रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको छ ।

यस्तै सूचना प्रविधि क्षेत्रमा सङ्ख्याको आधारमा सबैभन्दा बढी २५२ परियोजनामार्फत ९२ करोड ८३ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा लगानीको सीमा नभएकाले धेरै सङ्ख्यामा लगानी प्रतिबद्धता आएको हो । कृषि तथा वनजन्य क्षेत्रमा दुई परियोजनाका लागि चार करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार  ०७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।